एजेन्सी – विश्वप्रसिद्ध प्रविधि कम्पनी एनभिडियाले जेन्सन हुआङलाई तत्काल लागू हुने गरी पुनः अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ।
कम्पनीको सञ्चालक समितिले सर्वसम्मत रूपमा हुआङलाई पुनः नेतृत्वमा फर्काउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
कम्पनीका अनुसार अमेरिकी सरकारका उच्च अधिकारीहरूसँग समेत छलफल र परामर्श गरेपछि हुआङलाई पुनर्नियुक्ति गरिएको हो । उनको पुनर्नियुक्तिले राष्ट्रिय सुरक्षामा कुनै जोखिम नहुने निष्कर्ष निकालिएको छ। यसअघि अन्तर्राष्ट्रिय गुप्तचर गतिविधिसम्बन्धी प्रयासको निशानामा हुआङ परेको समाचार सार्वजनिक भएपछि सञ्चालक समितिले स्वतन्त्र निर्देशकहरूको समिति गठन गरी अनुसन्धान अघि बढाएको थियो।
पुनः नियुक्तिपछि हुआङले एनभिडियाको नेतृत्वमा फर्कन पाउँदा सम्मानित महसुस गरेको बताउँदै कम्पनीलाई नयाँ औद्योगिक क्रान्तिको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कम्पनीले राष्ट्रिय सुरक्षा तथा निर्यात नियन्त्रणसम्बन्धी जोखिमको निगरानी गर्न छुट्टै समिति गठन गर्ने पनि बताएको छ।
एनभिडियाका सहसंस्थापक जेन्सनलाई पुनः नेतृत्वमा ल्याउन सिलिकन भ्यालीका प्रभावशाली व्यवसायीले दबाब बढाएका थिए । पुनर्बहालीको माग गर्दै थालिएको अनलाइन निवेदनमा एक लाख ६० हजारभन्दा बढीले हस्ताक्षर गरेका थिए ।
एनभिडियामा लगानी गरेका कम्पनीका प्रमुख ब्राड गेस्र्टनर र गेविन बेकरले पनि बोर्डलाई पत्र लेख्दै हुआङलाई पुनः जिम्मेवारी दिन आग्रह गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको पुनर्नियुक्तिमा आफ्नो आपत्ति नहुने धारणा सार्वजनिक गरेका थिए । जेन्सनसँग सम्बन्धमा रहेकी महिला चिनियाँ गुप्तचर निकायसँग नजिक रहेको विवरण सार्वजनिक भएसँगै कम्पनीले उनलाई सीईओको जिम्मेवारीबाट हटाएको थियो ।


प्रतिक्रिया दिनुहोस्