२ खर्ब ४० अर्बको विकास प्याकेजदेखि भैरहवा हवाई रुट र आईआईटी स्थापनासम्मका महत्वपूर्ण सहमति
काठमाडौँ – प्रधानमन्त्री बालेन शाहको दुईदिने भारत राजकीय भ्रमण सम्पन्न भएसँगै नेपाल–भारत सम्बन्ध सम्भावनायुक्त सकारात्मक लयमा फर्किएको सरकारले निष्कर्ष निकालेको छ।
भ्रमण पूरा गरी सोमबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणका उपलब्धिहरू सार्वजनिक गर्दै सरकारको आधिकारिक धारणा राखेका हुन्।
सन्धि पुनरावलोकनको बाटो खुल्यो
परराष्ट्रमन्त्री खनालका अनुसार भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले युवा पुस्तालाई केन्द्रमा राखेर ‘विकसित भारत, समृद्ध नेपाल’ नामक संयुक्त भिजन डकुमेन्ट जारी गरेका छन्। यस दस्ताबेजले सन् १९५० को सन्धिलगायतका पुराना सन्धि–सम्झौताहरू समयानुकूल परिमार्जन र पुनरावलोकन गर्ने स्पष्ट बाटो खोलेको सरकारले जनाएको छ।
हालसम्मकै ठूलो २ खर्ब ४० अर्बको सहायता प्याकेज
भ्रमणको सबैभन्दा ठूलो आर्थिक उपलब्धिका रूपमा भारतले नेपालको विकासका लागि हालसम्मकै ठूलो भारु १५ हजार करोड (करिब २४० अर्ब नेपाली रुपैयाँ) बराबरको सहायता प्याकेज घोषणा गरेको छ। जसमध्ये ५६ अर्ब रुपैयाँ विपद्पछिको पुनर्निर्माण र पूर्वाधार निर्माणका लागि अनुदानका रूपमा प्राप्त हुनेछ भने बाँकी १८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रको विकासका लागि भारतीय रुपैयाँमै सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) रहनेछ।
भैरहवा हवाई रुट र रेल सेवाले पायो गति
लामो समयदेखि प्रतीक्षा गरिएको हवाई मार्गको विषयमा पनि भ्रमणमा महत्वपूर्ण ब्रेकथ्रु भएको छ। हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्ग (बी ३४५) लाई दुईतर्फी बनाउन र भैरहवामाथिको हवाई पहुँच मार्ग उपलब्ध गराउन भारत सहमत भएको छ। यस्तै, जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवा तथा उत्तराखण्ड र दार्चुला जोड्ने सडक पुलको भर्चुअल माध्यमबाट उद्घाटन गरिएको छ।
ऊर्जा, पेट्रोलियम पाइपलाइन र आईआईटी स्थापना
भ्रमणका क्रममा इनरुवा–न्यु पूर्णिया र दोधोदारा–बरेली प्रसारण लाइन निर्माण अघि बढाउने, तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गर्ने तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिट्टै टुङ्ग्याउने सहमति भएको छ। यसैगरी, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन र झापा–सिलिगुडी पाइपलाइनको शिलान्याससमेत सम्पन्न भएको छ।
शैक्षिक तथा प्राविधिक सहकार्यअन्तर्गत नेपालमा ‘इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी’ (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने निर्णय भएको छ। साथै, विपद् व्यवस्थापन, डिजिटल प्रविधि, स्वास्थ्य, आयुर्वेद र सहरी विकासलगायतका विभिन्न ८ वटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्