काठमाडौँ – रोमाञ्चक दोस्रो क्वालिफायर्समा चितवन राइनोजमाथि ३ विकेटको कठिन तर सनसनीपूर्ण जित निकाल्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रोपटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार साँझ सम्पन्न निर्णायक भिडन्तमा चितवनले दिएको १३४ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले एक बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्यो । यो जितसँगै सुदूरपश्चिमले आगामी शनिबार उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँगको उपाधि भिडन्त पक्का गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो । चितवनका लागि ओपनर डेविड मलानले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७१ रनको उत्कृष्ट इनिङ्स खेले पनि अन्य ब्याटरले उनलाई साथ दिन सकेनन् ।
अघिल्लो खेलमा कीर्तिमानी शतक प्रहार गरेका कामिल मिशारा जम्मा ४ रनमा आउट भए भने अनुभवी ब्याटर रवि बोपारा १ रनमै पभेलियन फर्किए । सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिँदै चितवनको इनिङ्सलाई सस्तैमा समेट्न मुख्य भूमिका खेले । त्यस्तै, थरिन्दु रत्नायकेले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हेमन्त धामीले १–१ विकेट हात पारे ।
१३४ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले निकै संघर्ष गर्नुपरेको थियो । अलराउन्डर थरिन्दु रत्नायकेले ४२ बलमा ७ चौकासहित ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीको इनिङ्स सम्हालेका थिए । अन्तिम ओभरसम्म तानिएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा विनोद भण्डारीले १३ बलमा २३ रन र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रनको महत्वपूर्ण योगदान दिएपछि सुदूरपश्चिमले १९.५ ओभरमा रोमाञ्चक जित दर्ता गर्यो ।
बलिङतर्फ चितवनका रञ्जित कुमारले २ तथा उसामा मिर, रिजन ढकाल, कमलसिंह ऐरी र सलाहुद्दिन खानले १–१ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
लगातार तेस्रोपटक एनपीएलको फाइनलमा स्थान बनाएको सुदूरपश्चिमका लागि आगामी शनिबार हुने फाइनल खेल निकै प्रतिष्ठाको विषय बनेको छ । अघिल्ला दुई सिजनमै फाइनल पुगेर पनि उपाधि विमुख बनेको सुदूरपश्चिम यसपटक भने त्यो इतिहास बदल्दै उपाधि चुम्ने दाउमा छ ।
रोचक संयोग के छ भने, सुदूरपश्चिमले दोस्रो सिजनको फाइनलमा तथा जारी संस्करणको पहिलो क्वालिफायर्समा समेत साविक विजेता लुम्बिनी लायन्ससँगै पराजय भोगेको थियो । तसर्थ, शनिबार त्रिवि क्रिकेट मैदानमा हुने महाभिडन्त सुदूरपश्चिमका लागि विगतको हारको बदला लिँदै च्याम्पियन बन्ने र लुम्बिनीका लागि उपाधि रक्षा गर्ने सुनौलो अवसर हुने छ ।


प्रतिक्रिया दिनुहोस्