‘गृहमन्त्रीकी आमा’ भन्दै अनुमतिबिना भिडियो खिचेर भाइरल बनाउने तीन जना पक्राउ, सेयर गर्नेलाई समेत समात्न प्रहरीमाथि दबाब

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०८३, बुधबार
2 Min Read
Aa

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै एक महिलाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक तथा भाइरल बनाएको आरोपमा प्रहरीले कलाकार, पत्रकारसहित तीन जनालाई पक्राउ गरेको छ । वैयक्तिक गोपनीयता हनन भएको भनी पीडित महिलाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा कालिकोट घर भई भक्तपुर बस्दै आएका कलाकार तथा युट्युबर छत्र बोगटी, दाङ घर भएका २८ वर्षीय चलचित्र पत्रकार शालिकराम न्यौपाने र दोलखाका ३७ वर्षीय नवरत्न तामाङ रहेका छन् । मंगलबार भक्तपुरबाट पक्राउ परेका बोगटीमाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्यादसमेत थप भइसकेको छ ।

- Advertisement -
Ad image

के हो घटना ?
भिडियोमा देखिएकी ४९ वर्षीया ज्ञानु लामा (तामाङ) ले आफ्नो अनुमतिबिना लुकेर भिडियो खिचिएको र सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या तथा वैयक्तिक गोपनीयता भङ्ग गरिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । सार्वजनिक भिडियोमा ती महिलाले गृहमन्त्री सुधन गुरुङ आफ्नो छोरा भएको दाबी गरेकी थिइन् । यद्यपि, उनी गृहमन्त्रीकी आमा हुन् वा होइनन् भन्ने विषयमा आधिकारिक पुष्टि नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध ‘वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५’ अन्तर्गतको कसुरमा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ ।

सेयर गर्नेलाई पक्राउ गर्न दबाब र प्रक्रियागत विवाद
यसैबीच, भिडियो खिचेर पोस्ट गर्ने मात्र नभई सामाजिक सञ्जालमा सेयर गर्ने अन्य व्यक्तिहरूलाई समेत पक्राउ गर्न प्रहरीमाथि माथिल्लो निकायबाट चर्को दबाब आएको प्रहरी स्रोतले जनाएको छ ।

अर्कोतर्फ, पक्राउ प्रक्रियालाई लिएर परिवारजनले असन्तुष्टि जनाएका छन् । पक्राउ परेका पत्रकार शालिकराम न्यौपाने मंगलबारदेखि एक्कासि सम्पर्कविहीन भएपछि उनकी श्रीमतीले प्रहरी वृत्त सिंहदरबारमा खोजीका लागि निवेदन दिएकी थिइन् । पक्राउ परेको विषयमा परिवारलाई समयमै जानकारी नदिइएको भन्दै प्रहरीको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्