काठमाडौं – काठमाडौं जिल्लाभरका व्यापार, व्यवसाय तथा बजार क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्ने तयारी जिल्ला प्रशासन कार्यालयले गरेकाे छ । यसका लागि आवश्यक सुरक्षा व्यवस्था र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर रणनीतिक योजना बनाउने काम भइरहेको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मंगलबार सूचना जारी गर्दै काठमाडौंका सबै क्षेत्रलाई चौबिसै घण्टा सञ्चालनयोग्य बनाउने उद्देश्यसहित आवश्यक तयारी भइरहेको जानकारी दिएका हुन् ।
हाल काठमाडौंका दरबारमार्ग र ठमेल क्षेत्रमा मात्रै २४ घण्टा व्यापार व्यवसाय सञ्चालन हुँदै आएको छ । अब यी क्षेत्रबाहेक जिल्लाका अन्य स्थानमा पनि बजार तथा व्यावसायिक गतिविधि रातिसमेत सञ्चालन गर्ने वातावरण तयार पार्न प्रशासनले पहल थालेको छ ।
यस विषयमा स्थानीय तह, सरकारी विभाग तथा कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिसँग छलफल तथा समन्वय गर्ने प्रशासनको योजना छ ।
प्रशासनका अनुसार राजधानीका सबै क्षेत्रमा चौबिसै घण्टा सेवा सञ्चालन गर्न प्रभावकारी सुरक्षा व्यवस्थासँगै आधारभूत पूर्वाधारको सुनिश्चितता आवश्यक छ । त्यसका लागि सडक तथा यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीको पर्याप्त व्यवस्था गर्नुपर्ने देखिएको छ ।
आवश्यक तयारी, सुरक्षा प्रबन्ध र पूर्वाधारको अवस्था सुनिश्चित भएपछि मात्रै जिल्लाभरका बजार तथा व्यापारिक क्षेत्रलाई २४ घण्टा खुला गर्ने निर्णय लिइने सूचनामा उल्लेख छ ।
यद्यपि, तत्कालका लागि दरबारमार्ग र ठमेलबाहेक अन्य क्षेत्रका व्यवसायीलाई पुरानै समयतालिकाअनुसार कारोबार सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ । अर्को सूचना जारी नभएसम्म निर्धारित समयभन्दा बाहिर व्यवसाय सञ्चालन नगर्नसमेत जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्