डिकवेलाको विस्फोटक अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौं – सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सहज जित निकाल्दै लुम्बिनीले लगातार दोस्रो पटक उपाधि भिडन्तमा स्थान पक्का गरेको हो।

सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। लुम्बिनीको जितमा विकेटकिपर ब्याटर निरोशन डिकवेलाले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५९ रनको योगदान दिए। आक्रामक ब्याटिङ गरेका उनले ३७ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे।

- Advertisement -
Ad image

यस्तै, कप्तान रोहित पौडेलले २८ बलमा १ चौकासहित २१ रन बनाउँदै डिकवेलासँग महत्वपूर्ण साझेदारी गरे। दिलीप नाथ १० रनमा अविजित रहे भने सन्दीप जोराले ८ रन जोडे। बलिङतर्फ सुदूरपश्चिमका थारिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५ रन मात्र जोड्न सक्यो। सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो र टोलीले मात्र ८ रन जोड्दा सुरुवाती ३ विकेट गुमाइसकेको थियो। दबाबमा परेको इनिङ्सलाई कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले सम्हाल्ने प्रयास गरे।

कप्तान ऐरीले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, इशान पाण्डेले ३३ बलमा २७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका बलरहरूले कसिलो प्रदर्शन गरे। लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिए भने शेर मल्लले २ विकेट हात पारे। यस्तै, अभिषेक गौतम र किशोर महतोको नाममा १–१ विकेट रह्यो।

यो जितसँगै लुम्बिनीले सिधै फाइनलको यात्रा तय गरेको छ भने पराजित सुदूरपश्चिम रोयल्सले फाइनल प्रवेशका लागि अझै एक अवसर पाउनेछ। सुदूरपश्चिमले अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्