काठमाडौं – नेकपा एमालेले बुधबार (मंसिर २) बाट सुरु हुने दुई दिने राष्ट्रिय भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र सङ्गठन परिचालनमा केन्द्रित गर्ने भएको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाको एजेन्डा अनुमोदन गर्दै भेलालाई पूर्ण रूपमा स्थानीय चुनावकेन्द्रित बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। बैठकले यसअघि मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटीको बैठक एक दिन अगाडि सार्दै मंसिर ४ गते नै बस्ने निर्णय समेत गरेको उनले बताए।
मंसिर २ र ३ गते चल्ने राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित पाँच जना शीर्ष नेताले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
उपमहासचिव भट्टका अनुसार भेलामा अध्यक्ष ओलीले वर्तमान राष्ट्रिय राजनीति, पार्टीको भावी कार्यदिशा र अब गर्नुपर्ने कामहरूबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यस्तै, वरिष्ठ नेता भण्डारीले मुलुकको समसामयिक राजनीतिक विषय र पार्टीको कार्यभारसम्बन्धी कार्यपत्र पेस गर्नेछिन्।
यसका साथै, उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ ले संसदीय संघर्ष र विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका विकासका काम तथा उपलब्धिहरूको समीक्षासहितको कार्यपत्र प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले भने पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजनासम्बन्धी कार्यपत्र पेस गर्ने पार्टीले जनाएको छ।
एमालेले पार्टीको इतिहासमै पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्वसम्म र स्थानीय तहदेखि सङ्घीय संसद्सम्मका जनप्रतिनिधिलाई एकै मञ्चमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।
भेलामा देशभरबाट ३ हजार ४ सय १४ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ। सहभागी हुने सबैलाई आगामी स्थानीय तह निर्वाचनकेन्द्रित सुझाव अनिवार्य रूपमा लिखित पेस गर्न भनिएको छ।


प्रतिक्रिया दिनुहोस्