काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमरात मैदानमा शनिबार सम्पन्न खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। यो हारसँगै नेपालको तालिकाको शीर्ष ६ मा रहँदै सिधै एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मान्यता जोगाउने यात्रा थप चुनौतीपूर्ण र संकटपूर्ण बनेको छ।
क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४६ ओभरमा २३२ रनमा समेटिएपछि महत्त्वपूर्ण अंक गुमाउन पुग्यो। नेपालका लागि युवा ब्याट्सम्यान अर्जुन कुमालले ११२ बलमा ८७ रनको उत्कृष्ट इनिङ खेले पनि अन्य ब्याट्सम्यानहरूले लामो साझेदारी गर्न नसक्दा टोली जितसम्म पुग्न सकेन।
रोहित पौडेल १८ रन, आसिफ शेख २० रन, इशान पाण्डे २१ रन र गुलशन झा २१ रनमा आउट भए. क्यानडाका लागि बलर सुखजिन्दर सिंहले ३ विकेट लिएर नेपाली इनिङलाई धराशायी बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो. क्यानडाका ओपनर युवराज सामराले ११७ बलमा १०५ रनको शतकीय इनिङ खेले। बलिङतर्फ नेपालका ललित राजवंशीले ४ विकेट र सन्दीप लामिछानेले ३ विकेट लिए पनि क्यानडालाई मध्यम योगफलमा रोक्न पर्याप्त भएन।
अंक तालिकाको नयाँ समीकरण र शीर्ष ६ को दबाब
यो जितसँगै क्यानडा ३६ खेलबाट २९ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। पराजित नेपाल भने ३५ खेलबाट २८ अंकसहित सातौँ स्थानमा झरेको छ. लिग-२ को शीर्ष ६ भित्र पर्ने टोलीले मात्र एकदिवसीय मान्यता सिधै कायम राख्ने भएकाले नेपालका लागि अब आगामी सोमबार घरेलु टोली ओमानविरुद्ध हुने श्रृंखलाको अन्तिम खेल अनिवार्य जित्नैपर्ने दबाब सिर्जना भएको छ। ओमानलाई पराजित गरेमा मात्र नेपाल शीर्ष ६ मा फर्कन सफल हुनेछ, अन्यथा एकदिवसीय मान्यता जोगाउन प्लेअफको कठिन बाटो रोज्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्