विश्वकप लिग–२: एकदिवसीय मान्यता जोगाउन आज नेपाल र क्यानडा भिड्दै, नेपाली क्रिकेटका लागि निर्णायक मोड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०८३, शनिबार
2 Min Read
Aa

काठमाडौ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमरातमा आज हुन लागेको नेपाल र क्यानडाबीचको भिडन्त नेपाली क्रिकेटका लागि निकै महत्त्वपूर्ण र विशेष मानिएको छ। नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुने लिग-२ को १३८औँ खेलमा दुवै टोली स्पष्ट जितको खोजीमा मैदान उत्रिनेछन्।

नेपालका लागि आजको खेल आगामी चक्रका लागि आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्ने सुनौलो अवसर हो। नेपालले आजको खेलमा जित निकालेमा एक खेल बाँकी छँदै अंक तालिकाको शीर्ष ६ मा आफ्नो स्थान पक्का गर्नेछ। हाल ३४ खेलबाट २८ अंक जोड्दै छैटौँ स्थानमा रहेको नेपाल आजको खेल जितेर शीर्ष ६ को दौडलाई टुङ्गोमा पुर्‍याउन चाहन्छ।

- Advertisement -
Ad image

अर्कातर्फ, क्यानडाका लागि यो खेल अस्तित्वको लडाइँ जस्तै बनेको छ। लिग-२ मा क्यानडाको यो अन्तिम (३६औँ) खेल हो र शीर्ष ६ को दौडमा आफूलाई जीवित राख्न उसलाई आजको खेल जित्नैपर्ने दबाब छ। हाल क्यानडा ३५ खेलबाट २७ अंकसहित तालिकाको सातौँ स्थानमा छ। अंक तालिकाको यो प्रत्यक्ष प्रतिस्पर्धाले गर्दा पनि आजको खेल दुवै टोलीका लागि ‘कर या मर’ को स्थितिमा पुगेको छ।

जारी शृङ्खलामा उत्कृष्ट लयमा देखिएको नेपाल लगातार तेस्रो जित निकाल्ने दाउमा छ। यसअघि नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले र दोस्रो खेलमा घरेलु टोली ओमानलाई ११३ रनको विशाल अन्तरले पराजित गरिसकेको छ। नेपाल आज पनि सोही लय कायम राख्दै शृङ्खलामा जितको ह्याट्रिक गर्ने योजनामा छ।

यदि आज नेपाल पराजित भएमा शीर्ष ६ मा पर्नका लागि आगामी सोमबार हुने ओमानविरुद्धको अन्तिम खेलसम्म कुर्नुपर्नेछ, जसले नेपाली टोलीमाथि दबाब बढाउन सक्छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्