बीबीसी – साउदी अरबनजिकै एउटा तेल ट्यांकरमा आक्रमण भएको छ। यसैबिच कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलरनजिक पुगेको छ। बीबीसीका अनुसार यो मेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सबैभन्दा उच्च हो।
आर्थिक विश्लेषकहरूका अनुसार मूल्य वृद्धि मध्यपूर्वमा बढ्दो तनाव र तेल आपूर्तिको चिन्ताका कारण भएको हो। शुक्रबार ब्रेन्ट क्रुड फ्युचर्स ३.९४ डलर बढेर प्रतिब्यारेल १०९.८६ डलर पुगेको छ, जुन मे १९ यताकै उच्च हो।
यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य पनि ३.४४ डलर बढेर प्रतिब्यारेल १०१.४१ डलर पुगेको छ, जुन सेप्टेम्बर १७ पछिकै उच्च हो।
ब्रिटिस मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार, साउदी अरबको उत्तर-पूर्वी इलाका जुबैलको तटमा एउटा तेल ट्यांकरमा आक्रमण भएको हो।
यूकेएमटीओका अनुसार शुक्रबार जुबैलबाट १२६ किलोमिटर टाढा जहाजलाई अज्ञात प्रक्षेपणद्वारा प्रहार गरिएको हो। यद्यपि चालक दलका सबै सदस्यहरू सुरक्षित रहेको र उनीहरूलाई बाहिर निकालेर सुरक्षित स्थानमा लगिएको यूकेएमटीओले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्