सल्लेरी बजार बगाउँदै बूढीगण्डकीमा आयो भीषण बाढी, आरुघाटसम्मका तटीय बस्तीलाई सुरक्षित स्थानमा जान चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौँ – गोरखाको उत्तरी क्षेत्रमा अवस्थित बूढीगण्डकी नदीमा अचानक आएको भीषण र आकस्मिक बाढीले व्यापक क्षति पुर्‍याएको छ। बाढीका कारण चुमनुब्री गाउँपालिकामा पर्ने सल्लेरी बजार पूर्ण रूपमा बगेको छ भने नजिकैको जगत बजारमा ठूलो भौतिक क्षति भएको छ।

बाढीले चुमनुब्री गाउँपालिका वडा नम्बर ३ र ६ का तटीय क्षेत्रमा रहेका ५ देखि ७ वटा घर तथा भौतिक संरचनाहरू बगाइसकेको छ। सल्लेरी बजार र घट्टेखोला क्षेत्रका संरचनाहरू बाढीको चपेटामा परे पनि हालसम्म मानवीय क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन।

- Advertisement -
Ad image

माथिल्लो हिमाली क्षेत्रमा वर्षा भएको रेकर्ड नभएकाले, चुम्चेत वा छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर नदी थुनिएको र पछि उक्त प्राकृतिक बाँध फुट्दा लेदो र गेग्रानसहितको भीषण बाढी आएको अनुमान गरिएको छ। स्यार खोला र उग्युलुङ खोलातर्फबाट आएको यो बाढी बूढीगण्डकीमा मिसिएपछि नदीको बहाव अत्यधिक बढेको हो।

बाढीको तीव्र बहाव तल्लो क्षेत्रतर्फ बढिरहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन सार्वजनिक चेतावनी जारी गरेका छन्। सिर्दिबास, जगत, यारु, तातोपानी, माछीखोला, खोर्लाबेँसी, सोती, आरुखेत हुँदै आरुघाट बजारसम्मका नदी किनारका बस्तीहरू उच्च जोखिममा रहेका छन्।

बाढी तल्लो क्षेत्रमा आइपुग्न अझै केही समय लाग्ने भएकाले नदी आसपासका बासिन्दा, स्थानीय प्रशासन र पर्यटकहरूलाई तत्काल नदी किनार छाडेर सुरक्षित उच्च स्थान (पाखातर्फ) जान र नदी क्षेत्रमा आवतजावत नगर्न आग्रह गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्