काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन एक विशेष समिति गठन गरेको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उक्त केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने निर्णय गरेको हो। निर्वाचनमा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्ने सक्षम र लोकप्रिय उम्मेदवारहरूको वैज्ञानिक छनोटका लागि यो समितिले विशेष कार्यविधि बनाएर काम गर्नेछ।
समावेशी र सातै प्रदेशको सन्तुलित संरचना सहित गठन गरिएको यस समितिमा मिलन लिम्बु, रहबर अन्सारी, डा. तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैद्धिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्यका रूपमा मनोनीत भएका छन्।
देशका सातै प्रदेशको प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्माण गरिएको यस समितिमा रास्वपाका सातै प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्य रहने व्यवस्था मिलाइएको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार समितिमा अन्य केही सदस्यहरू पनि थप गर्न बाँकी रहेको र यसलाई चाँडै पूर्णता दिएर जिल्ला तथा स्थानीय तहसम्मै उम्मेदवार सिफारिस एवं छनोटको ठोस विधि र कार्यतालिका बनाएर काम अघि बढाइनेछ।


प्रतिक्रिया दिनुहोस्