प्रक्षेपण : रोशन खड्काले जित्न सक्छन् बराहक्षेत्र कांग्रेसको नगर सभापति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०८३, मंगलवार
8 Min Read
Aa

सुनसरी – ३० वर्षीय कुन्दन खड्का काठमाडौं बसेर व्यवसाय गर्छन्। तर उनी सुनसरीको बराहक्षेत्र ८ का मतदाता हुन्। नेपाली कांग्रेसका चर्चित नेता बहादुर खड्काका छोरा कुन्दन बुवाको पार्टीप्रति रूची राख्छन्। बिडम्बना, उनी न काठमाडौंबाट कुनै कमिटीमा बसेर काम गर्न सके न बराहक्षेत्रमै।

यही बीचमा कांग्रेसले १४ औं महाधिवेशनपछि पार्टीको क्रियाशील सदस्यता खुलाएपछि कुन्दनको इच्छा पूरा भयो। अर्थात् उनी कांग्रेसको क्रियाशील सदस्य बने। रोचक के छ भने, बराहक्षेत्र ८ का वडा अध्यक्ष रोशन खड्काले आफैं क्रियाशील फर्म भरिदिएर उनको सदस्यता बन्यो। अन्यथा न कुन्दनलाई जानकारी थियो, न अरू कोहि नेतालाई।

- Advertisement -
Ad image

एकातिर कांग्रेस सुनसरीका अग्रज नेताको छोरा हुँदासमेत कुन्दनले पार्टीको सदस्यता नपाउनु अनि अर्कोतिर पार्टीले यस्ता युवाहरू गुमाइरहनु। यो सबै देखेपछि अध्यक्ष खड्कालाई लाग्यो, यसरी त कांग्रेसमा पुस्तान्तरण कसरी हुन्छ ? युवा पुस्ताहरूमा कांग्रेस कसरी पुग्छ ?

हो, त्यही घटनाले ट्रिगर गरेपछि रोशन खड्का कांग्रेस बराहक्षेत्रको सभापति बन्न लागेका हुन्।

असोज ७ मा हुने कांग्रेसको बराहक्षेत्र नगर अधिवेशनमा रोशन खड्का नगर सभापतिको चुनावी मैदानमा छन्। उनीसहित बराहक्षेत्र १० का वडाअध्यक्ष तेज गुरूङ, बराहक्षेत्र ७ का केशब निरौला र ८ नम्बरका कालुराम चौधरीले पनि सामाजिक सञ्जालमा नगर सभापतिको उम्मेदवारी घोषणा गरेका छन्। भलै, उनीहरूले सबैले उम्मेदवारी दर्ता गराउँछन् कि गराउँदैनन्, यकिन छैन।

स्रोतकाअनुसार निरौलाले अन्तिम समयमा रोशन खड्कालाई समर्थन गरेर उम्मेदवारी फिर्ता गर्न सक्ने छन्। अर्का उम्मेदवार चौधरीको भने यकिन छैन।

जम्मा ४१७ जना मतदाता (क्षेत्रीय प्रतिनिधि) मध्ये साविक भरौल र चतरामा १५६ मत छ। अहिलेको बराहक्षेत्र एक, दुई, तीन, चार र पाँच नम्बर वडामा क्रमशः २४, ४२, ३३, २४, ३३ क्षेत्रीय प्रतिनिधि चुनिएका छन्। साविक भरौल र बराहक्षेत्र (चतरा)को स्वभावैले पनि एकजुट हुने विगतले पुष्टि गर्छ।

जस्तो कि, १४औं नगर अधिवेशनमा भरौल र चतरा एकजुट भएर चतराका नगर सभापति उम्मेदवार नारायण नेपाललाई सघाएको इतिहास साक्षी छ। यस्तोमा यसपटक पनि यी दुई निर्णायक ठाउँहरूले एकजुट भएर रोशन खड्कालाई सघाउँदा ८० प्रतिशत मत उनको पक्षमा खस्ने भरौलका एक नेता बताउँछन्।

नाम नबताउने शर्तमा उनले भने, ‘हामी पहिल्यैदेखि एकजुट हुन्थ्यौं, यसपाली पनि रोशनजीको पक्षमा एकजुट छौं। म तपाईंलाई ग्यारेन्टी गर्छु, ८० प्रतिशत मत भरौल र चतराले रोशनजीलाई दिन्छ। दिन्छ। दिन्छ।’

भरौलमा प्रभावशाली मानिएका ती नेताको दाबीलाई मान्ने हो भने १२४ मत चतरा र भरौलबाट रोशन खड्काको पक्षमा आउने देखिन्छ। यदि ८० प्रतिशत नै नखसे पनि ७० प्रतिशत खस्दा १०९ मत रोशन खड्कालाई जाने देखिन्छ। यो भनेको जीतको लागि निर्णायक मत हो।

त्यसो त बराहक्षेत्रमा ६० प्रतिशत बढी आदिवासी-जनजाति समुदायको उपस्थिति छ। यसमा रोचक पक्ष के छ भने, यही समुदायबाट अर्का उम्मेदवार तेज गुरूङ नगर सभापतिकै चुनावी मैदानमा छन्। तर बिडम्बना, जनजाति समुदायका प्रभावशाली नेताहरू रोशन खड्काको पक्षमा खुलेका देखिन्छन्।

जस्तो कि, सन्त राई जो लामो समय जनजातिको लडाईं र संघर्षमा छन्। उनलाई कतिपयले बराहक्षेत्रको जनजाति मसिहा पनि भन्ने गर्छन्। तिनै सन्त राईले रोशन खड्कालाई जिताउन सार्वजनिक रूपमै खुलेर लागिरहेको प्रष्ट देखिन्छ।

त्यसपछि अर्का नेता मधुकर तामाङ जो सुनसरी ४(क) कावा सभापति हुन्, उनले समेत खुलेर रोशन खड्काको लागि मत मागिरहेका छन्। पहिचानको आन्दोलनमा सक्रिय दिनेश खम्बु राईले रोशन खड्काको लागि मत मागेका मात्र छैनन्, खड्का समूहबाट पदाधिकारीको उम्मेदवार हुने स्रोत बताउँछ।

अर्का किरात राई यायोख्याका केन्द्रीय नेता चित्र राईले पनि रोशन खड्कालाई समर्थन गरेको हुनाले आदिवासी, जनजाति समुदायका क्षेत्रीय प्रतिनिधिले खड्कालाई मत हाल्ने नेताहरूको बताउँछन्। त्यसबाहेक अन्य थुप्रै जनजाति नेताहरू रोशन खड्काको पक्षमा खुल्नु जितको अर्को महत्त्वपूर्ण आधार हो।

अंकगणितकै हिसाब गर्दा, वडा नम्बर छ मा ४२ मत, सात नम्बरमा ४२ मत देखिन्छ। यी दुवै वडामा बलियो प्रभाव पर्ने उनी निकट क्षेत्रीय प्रतिनिधि शिशिर तामाङ बताउँछन्। किनकि यी दुवै वडा साविक महेन्द्रनगर गाविसअन्तर्गत पर्छन्, जहाँबाट रोशनले प्रतिनिधित्व गरिरहेका छन्।

तामाङ भन्छन्, ‘आफ्नो ठाउँमा उम्मेदवारको प्रभुत्व हुनु स्वभाविक हो। साविक महेन्द्रनगरका ६ र ७ नम्बर वडाबाट ६० प्रतिशत मत रोशन दाइलाई आउँछ भन्ने हाम्रो विश्वास हो।’

त्यसबाहेक बराहक्षेत्र आठ नम्बर वडामा ५१ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित छन्, यो वडा रोशन आफ्नै ठाउँ भएकाले यसमा थप विश्लेषण आवश्यक रहेन। यसैगरी दश नम्बर वडामा रहेका ६० जना क्षेत्रीय प्रतिनिधिको पनि विश्लेषण आवश्यक रहन्न। किनकि यो वडा सभापतिका अर्का उम्मेदवार तेज गुरूङको वडा हो।

बाँकी रहेको नौ नम्बरका ४२ जना क्षेत्रीय प्रतिनिधि र ११ नम्बर वडाका २४ जनाले छासमिसे मत हाल्न सक्ने बताइन्छ। ११ नम्बरका एक क्षेत्रीय प्रतिनिधिले नाम नबताउने शर्तमा आफूहरूले पहिल्यै रोशन खड्कालाई मत हाल्ने निर्णय गरिसकेको बताएका छन्। तर सँगैमा नौ नम्बरका एक क्षेत्रीय प्रतिनिधिले भनेका छन्, ‘तेज दाइ हाम्रै छिमेकीजस्तो हो, युवा पनि छन्, उनलाई सघाउने होनि।’

यसपटकको नगर अधिवेशनमा देखिएको अर्को रोचक पक्ष भनेको सामाजिक सञ्जालको चर्चा-परिचर्चा हो। सामाजिक सञ्जाल र मिडियामा रोशन खड्काकै चर्चा देखिन्छ। त्यसको पनि केही महत्त्वपूर्ण कारणहरू छन्।

त्यसमध्येको महत्त्वपूर्ण कारण नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुनु हो। वडा तहदेखि केन्द्रसम्म गगन थापा, विश्वप्रकाश शर्माहरूको समर्थन भइरहँदा तिनै गगन-विश्वप्रकाशलाई स्थापित गर्न रोशन अग्रपंक्तिमा थिए। त्यसैले पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको एजेण्डालाई प्रस्टसँग उठाएका खड्का केन्द्रीय सभापति गगन थापा निकट मानिन्छन्।

खास कुरा त, कांग्रेसको विशेष महाधिवेशनमा बराहक्षेत्रबाट सहभागी हुने एक मात्र नगर सभापतिका उम्मेदवार खड्का नै हुन्। अरू नगरको सभापतिका दाबेदारहरू कोही पनि विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्। बरू अरूले विशेष महाधिवेशनलाई बहिष्कार गरेका थिए। तर रोशनले बराहक्षेत्रमा मात्र हैन, सुनसरीकै नेताहरूलाई विशेष महाधिवेशनमा काठमाडौं जान उत्प्रेरित गरे। महाधिवेशन प्रतिनिधिहरूलाई लिएरै आफू सहभागी बने।

त्यसैले पनि हुनुपर्छ रोशनले नारा नै बनाएका छन्, ‘केन्द्रमा गगन, बराहक्षेत्रमा रोशन।’

४० वर्ष पार गरेका खड्का न त कच्चा उमेरका छन्, न त वृद्ध राजनीतिज्ञझैँ निष्क्रिय। राजनीति र समाजसेवाका लागि यो उमेर परिपक्वता र ऊर्जाको सही सन्तुलन हो। एकथरिले ३० वर्षीय उम्मेदवारलाई युवा भनेर बोकिरहेका छन् तर त्यो उमेर आफैंमा कच्चा हुनसक्ने विश्लेषकहरू बताउँछन्। यस्तोमा रोशन खड्का उमेर अनि व्यबहारले परिपक्व र नेतृत्व गर्नसक्ने परिस्थितिमा देखिन्छन्।

रोशनले आफ्नो वडामा पुर्‍याएको योगदानका कारण विशेष गरी युवा माझ उनी अत्यन्त लोकप्रिय पनि छन्। वडा अध्यक्षको रूपमा उनले सञ्चालन गरेका अभियानहरू उदाहरणीय छन्। जस्तो कि युवालक्षित कार्यक्रमहरू : खेलकुद प्रतियोगिताहरूको आयोजना, अतिरिक्त क्रियाकलाप र युवा सशक्तीकरणका लागि निरन्तर पहल।

लागुऔषध विरुद्धको प्रभावकारी अभियान चलाएर धेरै युवाहरूलाई सही बाटोमा ल्याउन सफल। स्थानीय स्तरमै विभिन्न सीपमूलक र क्षमता विकास तालिमहरू सञ्चालन गरी युवाहरूलाई उद्यमी र आत्मनिर्भर बनाउन प्रोत्साहन। यिनै कार्यका कारण उनी केवल राजनीतिक नेता मात्र होइनन्, स्थानीय युवाहरूको ढुकढुकी बनेको बताइन्छ।

सबैभन्दा महत्वपूर्ण चाहिं कांग्रेसभित्र पछिल्लो समय पुस्तान्तरण, संगठनको पुनर्संरचना र नयाँ पुस्ताको सहभागिता निरन्तर बहसमा छन्। विशेष महाधिवेशनमा सहभागी भएर पार्टीभित्रको परिवर्तनको बहसलाई नजिकबाट नियालेका खड्का अब त्यसको प्रभाव स्थानीय संगठनमा देखाउन चाहन्छन्। त्यसमा पनि यस पटक उनले बराहक्षेत्रमा धेरै मानिसहरू, विशेष गरी स्वतन्त्र र गैर-राजनीतिक पृष्ठभूमि भएका युवाहरूलाई कांग्रेसमा भित्र्याउन अहम भूमिका खेलेका छन्।

यिनै कारण बराहक्षेत्र कांग्रेसको सभापतिमा रोशन खड्का निर्वाचित हुनसक्ने प्रक्षेपण अर्थ, तर्क र तथ्यपूर्ण ठहर्छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्