काठमाडौँ – धितोपत्र बजारमा साताको अन्तिम कारोबार दिन लगानीकर्ताहरूमा ठूलो उत्साह देखिएको छ। ओरालो लागिरहेको बजारलाई चिर्दै बिहीबार नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.७२ विन्दुमा बन्द भएको हो। बजार खुल्नासाथ सकारात्मक देखिएको नेप्से परिसूचक कारोबारको अन्तिम समयसम्म टिकिरह्यो। साताको अन्तिम दिन बजार हरियाली बनेर बन्द हुँदा लगानीकर्ताहरूको मनोबल थप बलियो बनेको छ।
आज बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। दिनभर कुल ७ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद-बिक्री भएको छ। कुल १८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारलाई माथि उठाउन मद्दत पुगेको हो भने ५२ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। बैंकहरूले ब्याजदर लगातार घटाउँदै लगेपछि सस्तो ब्याजमा कर्जा पाइने आशाले लगानीकर्ताहरू सेयर बजारतर्फ आकर्षित भएका हुन्। वित्तीय प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्याप्त हुनुले पनि बजारलाई बलियो टेवा दिएको छ। नेप्सेले २५०० को महत्वपूर्ण विन्दुलाई बलियो आधार बनाएर २५५९ पार गरेपछि प्राविधिक रूपमा बजार ‘बुलिस’ लयमा फर्किएको विश्लेषकहरू बताउँछन्।
आजको कारोबारमा अधिकांश उपसूचकहरूमा हरियाली छाएको छ, जसमा बैंकिङ, जलविद्युत र बिमा उपसमूहको योगदान अग्रस्थानमा रह्यो। तीनवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।


प्रतिक्रिया दिनुहोस्