आईपीओ निष्कासनको तयारीमा रूपाकोट रिसोर्ट, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडले रुपाकोट रिसोर्ट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको छ।

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच रुपाकोट रिसोर्टको प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि आवश्यक सम्पूर्ण परामर्श तथा अन्य सेवासहित निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

- Advertisement -
Ad image

कास्कीको रुपा-६, मैदानमा कारोबार कार्यालय रहेको रुपाकोट रिसोर्टले प्रचलित कानुनबमोजिम भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ। सोही प्रक्रियाका लागि आवश्यक परामर्श तथा अन्य सेवा उपलब्ध गराउने गरी एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो।

पोखराको रुपाकोट क्षेत्रमा अवस्थित रुपाकोट रिसोर्ट नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा स्थापित गन्तव्यका रूपमा रहेको कम्पनीले जनाएको छ। प्राकृतिक सौन्दर्य, शान्त तथा रमणीय वातावरण, हिमाली शृंखलाको दृश्य तथा रुपा र बेगनास तालको मनोरम अवलोकन गर्न सकिने स्थानमा रिसोर्ट रहेको छ।

रिसोर्टले पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सेवा विस्तार गर्दै आएको जनाएको छ।

रिसोर्टमा आवासीय सुविधा, भोजन तथा पेय पदार्थ, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधार उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसका कारण पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभासम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत रिसोर्ट उपयुक्त गन्तव्यका रूपमा विकास भएको बताइएको छ।

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आईपीओ’ सेवाअन्तर्गत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा परिणत गरी सर्वसाधारणका लागि सेयर निष्कासनसम्मको प्रक्रियामा आवश्यक परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्