काठमाडौँ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको छ। सरकार र वर्तमान राजनीतिक व्यवस्थाविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेको केही घण्टाभित्रै उनलाई नियन्त्रणमा लिइएको हो।
आईतबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफ्ना माग पूरा नभए व्यवस्था नै ढाल्ने चेतावनी दिएका थिए। त्यसलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोली उनको निवास पुगेको थियो। प्रहरी स्रोतका अनुसार सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको र परिस्थिति थप भड्काउने अभिव्यक्ति दिएकाले उनलाई नियन्त्रणमा लिइएको हो।
प्रसाईंले किराँत र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्बहाली हुनुपर्ने मुख्य माग राख्दै आएका छन्। यसअघि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा अवरोध सिर्जना गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो। हाल उनलाई प्रहरी हिरासतमा राखिएको छ भने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।


प्रतिक्रिया दिनुहोस्