सरकार र चिकित्सकबीच सहमति: आन्दोलन फिर्तासँगै आजबाट अस्पतालका सबै सेवा सुचारु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सरकार र आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूबीच सहमति भएसँगै आजबाट देशभरका अस्पतालका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा सुचारु भएका छन्। विगत केही दिनदेखि जारी आन्दोलन फिर्ता भएसँगै बिरामीहरूले ओपिडी, नियमित शल्यक्रिया र अन्य स्वास्थ्य सेवाहरू पूर्ववत् रूपमा पाउन थालेका हुन्।

गएराति सरकार र स्वास्थ्यकर्मीका प्रतिनिधिहरूबीच कार्यस्थलको सुरक्षा, भौतिक पूर्वाधार सुधार र पुराना मागहरू सम्बोधन गर्ने बुँदामा लिखित सहमति जुटेको थियो। सहमतिलगत्तै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको आन्दोलनरत पक्षले जनाएको छ।

- Advertisement -
Ad imageAd image

सेवा ठप्प हुँदा मर्कामा परेका बिरामीहरू आज बिहानैदेखि वीर अस्पताल, शिक्षण अस्पताल (टिचिङ), पाटन अस्पताल लगायत देशभरका प्रमुख सरकारी तथा निजी अस्पतालहरूमा टिकट काट्न लामो गुडमा बसेका देखिन्थे। आकस्मिक सेवा मात्र सञ्चालन हुँदा टाढा-टाढाबाट आएका हजारौँ बिरामीहरू उपचार पाउनबाट वञ्चित भएका थिए।

अस्पताल प्रशासनहरूका अनुसार आजबाट ओपिडी टिकट काउन्टर, प्रयोगशाला, र एक्स-रे जस्ता सेवाहरू पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्। आन्दोलन फिर्ता भएसँगै सर्वसाधारणले ठुलो राहत महसुस गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्