एजेन्सी – सर्वाधिक पाँच पटक विश्वकप जित्ने ब्राजिल लामो समयदेखि आफ्नो छैटौँ विश्वकप उपाधिको पर्खाइमा छ । तर उसकाे पहिलाे खेलमा नै स्टार खेलाडी नेइमार टिममा हुनेछैनन् । सन् २००२ देखि ब्राजिललाई उपाधिले पर्खिरहेको छ ।
सोही अभियान अन्तर्गत ब्राजिलले विश्वकप फुटबल–२०२६ मा आफ्नो पहिलो खेल बलियो मोरक्कोविरुद्ध खेल्दै छ । सन् १९३० मा सुरु भएको विश्वकपदेखि अहिलेसम्म लगातार खेल्ने एक मात्र टिम हो ब्राजिल ।
विश्वकप फुटबल भन्नासाथ यसको दाबेदारका रूपमा सबभन्दा अग्रपङ्क्तिमा आउने नाम पनि ब्राजिल नै हो तर कार्लो एन्सेलोटीको नेतृत्वमा उत्तरी अमेरिका आइपुगेको ब्राजिलको टिम अहिले स्थिर छैन । पछिल्ला तीन वर्षमा ब्राजिलले चार प्रशिक्षक परिवर्तन गरिसकेको छ ।
अन्य दाबेदार टोलीले सहज समूह पाएको यस विश्वकपमा ब्राजिल भने पहिलो खेलमै बलियो विपक्षीको सामना गर्न पनि बाध्य छ । मोरक्को गत संस्करणमा सेमिफाइनलसम्म पुग्ने टिम हो । विश्व वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई समूह चरणमा हराएर अगाडि बढेको मोरक्कोले नकआउट चरणमा पनि एक से एक टिमलाई पन्छाएको थियो ।
मोरक्को प्रिक्वाटरफाइनलमा पूर्वविजेता स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएर विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने पहिले अरबी देश बनेको थियो । त्यसको तीन दिनपछि क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई बिदा गरेर मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो ।
यसपालि पछिल्लो साखलाई जोगाउने मोरक्कोको लक्ष्य हुने छ । मोरक्को अफ्रिकन च्याम्पियन पनि हो । मोरक्कोले सोही लयलाई ब्राजिलविरुद्ध कायम राख्ने अपेक्षा गरेको छ । स्पेनी र फ्रान्सेली लिगमा खेल्ने खेलाडीहरू भएकाले ब्राजिललाई स्तब्ध गर्ने क्षमता मोरक्कोसँग छभन्दा फरक पर्दैन ।
यद्यपि मोरक्को अहिले चोटको मारमा छ । गत आईतबार नर्वेविरुद्धको अभ्यास खेलमा नएफ अगुएर्ड र आब्दे एजालजोली घाइते भए ।
ब्राजिल पनि चोटकै समस्यामा छ । ढाडको समस्याले पीडित नेइमारले मोरक्कोको खेलमा खेल्ने पक्का छैन । ब्राजिलले चोटकै कारण रोड्रिगो, इस्टिभाओ, एडर मिलिटाओ र वेस्ली जस्ता स्टार खेलाडीलाई गुमाइसकेको छ । ब्राजिल यसपालि फरवार्ड भिनिसियस जुनियरमा धेरै भर पर्नु पर्ने छ ।
स्कटल्यान्ड र हाइटी पनि भिड्दै
समूह सीकै अर्को खेलमा स्कटल्यान्ड र हाइटीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार आईतबार बिहान ६:४५ बजे सुरु हुनेछ ।
उत्तर अमेरिकी राष्ट्र हाइटी ५२ वर्षपछि विश्वकपमा फर्किएको छ । यसपालि आफ्नै महादेशमा भइरहेको विश्वकपमा हाइटीको एउटै लक्ष्य हुनेछ- पहिलो अनुभवलाई सुधार्ने । जर्मनी १९९४ मा हाइटीले तीनवटै खेलमा हार बेहोर्दा कूल १४ गोल खाएको थियो ।
कोनकाकाफ छनोटको १० मध्ये ६ खेलमा हाइटीले विजय हासिल गरेको थियो । नोभेम्बरमा कोस्टा रिकालाई १–० र निकारागुवालाई २–० ले हराउँदै हाइटी विश्वकपमा फर्किएको हो ।
विश्वकप २०२६ का ४८ राष्ट्रमध्ये हाइटी फिफा वरीयतामा पुछारबाट दोस्रो स्थानमा छ । विश्वकपअघि हाइटीले पुछारको न्युजिल्यान्डमाथि ४–० को रवाफिलो जित हासिल गर्यो ।
स्कटल्यान्ड नवौं पटक विश्वकप खेल्दैछ । स्कटल्यान्डले पछिल्लो पटक १९९८ फ्रान्स विश्वकप खेलेको थियो ।
युईएफए छनोटमा ६ मध्ये चार खेल जितेको स्कटल्यान्डलाई मोरक्को र नर्वेसँगै ‘डार्क हर्स’ का रूपमा हेरिएको छ । स्कट म्याकटोमिने र एन्डी रोबर्टसन जस्ता विश्व फुटबलका चर्चित खेलाडी रहेको स्कटल्यान्ड बढीमा दोस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ ।
विश्वकपअघिमैत्रीपूर्ण खेलमा स्कटल्यान्डले १० खेलाडीमा समेटिएको कोराकाओलाई ४–१ ले हराएको थियो । त्यसपछि स्कटल्यान्डले बोलिभियालाई ४–० ले हरायो ।
अहिलेसम्म समूह चरण पार गर्न नसकेको स्कटल्यान्डसँग यसपटक नकआउट पुग्ने लक्ष्यमा छ । त्यसका लागि तुलनात्मक रूपमा कमजोर मानिएको हाइटीलाई हराउँदै सुखद सुरुवात गर्ने स्कटल्यान्डको लक्ष्य छ ।


प्रतिक्रिया दिनुहोस्