जग्गा विवाद र सामाजिक सञ्जालको लफडा: पत्रकार किशोर श्रेष्ठ र कलाकार हिमेश पन्त एक–अर्काविरुद्ध पुगे साइबर ब्यूरो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०८३, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – सञ्चारमाध्यममा प्रकाशित समाचार र सामाजिक सञ्जालमा लेखिएका स्टाटसहरूलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्त एक–अर्काविरुद्ध कानुनी लडाइँमा उत्रिएका छन्।

दुवै पक्षले शुक्रबार काठमाडौँको भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगेर एक–अर्काविरुद्ध कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन्।

- Advertisement -
Ad image

विवादको सुरुवात जनआस्था अनलाइन र त्यसका सम्पादक किशोर श्रेष्ठको आधिकारिक फेसबुक पेजबाट भएको हो। जनआस्थाले ‘कलाकार हिमेश, अरुको सम्पत्ति हडप्नेले कस्तो सुशासन सिकाउने?’ शीर्षकमा धादिङको एक जग्गा विवादलाई जोडेर समाचार सार्वजनिक गरेको थियो।

उक्त समाचारमा हिमेशको परिवारले अर्काको जग्गा अनाधिकृत रूपमा कब्जा गरेको आरोप लगाइएको छ। आफ्नो बुबाले जग्गा बिक्री नगरेर बन्धकी मात्र राखेको भन्दै हिमेशले उक्त समाचारलाई कपोलकल्पित, भ्रामक र आफ्नो राजनीतिक जीवन ध्वस्त पार्ने दुराशयले प्रेरित भएको बताएका छन्। चरित्रहत्या भएको दाबी गर्दै उनले श्रेष्ठविरुद्ध पहिलो उजुरी दर्ता गराए।

यता, हिमेशले फेसबुकमा पत्रकार श्रेष्ठलाई लक्षित गर्दै ‘ब्ल्याकमेलरले दशैँ राम्रै मनाउने भो’ र ‘कति करोडको खेल हो फेरि’ जस्ता गम्भीर आरोपसहितका स्टाटसहरू लेखेपछि श्रेष्ठ पनि एक्सनमा उत्रिएका हुन्।

पन्तका यस्ता अभिव्यक्तिले आफ्नो व्यावसायिक मर्यादा र सञ्चारमाध्यमको विश्वसनीयतामा प्रहार गरेको भन्दै सम्पादक श्रेष्ठले पनि सोही दिन साइबर ब्यूरोमा पन्तविरुद्ध काउन्टर उजुरी दर्ता गराएका छन्। दुवै पक्षको उजुरी परेसँगै साइबर ब्यूरोले यसबारे आवश्यक कानुनी अनुसन्धान अगाडि बढाउने भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्