काठमाडौं – इंग्ल्यान्डको क्लब आर्सनलले जर्मनीको बायर लेभरकुसेनमाथि सहज जित निकाल्दै यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ। एबेरेची एजे र डेक्लान राइसको गोलमा आर्सनलले लेभरकुसेनलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो।
क्वाटरफाइनलमा अब आर्सनलले पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बनसँग प्रतिस्पर्धा गर्नेछ। स्पोर्टिङले यसअघि तीन गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै नर्वेको बोडोरग्लिम्ट लाई हराएर अन्तिम आठमा स्थान बनाएको थियो। यो खेलअघि दुवै टोली समग्र स्कोरमा बराबरीमा थिए। पहिलो लेगमा आर्सनलका काइ हाभर्ट्जले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा टुंग्याएका थिए।
दोस्रो लेगमा भने आर्सेनलले सुरुदेखि नै दबाब सिर्जना गर्यो। गाब्रिएलका कर्नरबाट आएका दुई प्रहारमा लेभरकुसेनका गोलरक्षक यानिस ब्लासविचले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा राखेका थिए।
तर पहिलो गोल रोक्न भने उनले सकेनन्। एबेरेची एजेले पेनाल्टी क्षेत्रको किनारमा बल नियन्त्रण गर्दै घुमेर शक्तिशाली प्रहार गर्दा बल सिधै जालीको माथिल्लो भागमा पुगेको थियो। यो उनको च्याम्पियन्स लिगमा पहिलो गोल समेत बनेको छ।
दोस्रो हाफमा पनि आर्सनलले खेलमाथि नियन्त्रण कायम राख्यो। लेभरकुसेनको क्लियर बललाई पछ्याउँदै डेक्लान राइसले शान्त रूपमा तल्लो कुनामा प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे।
खेल जितिसकेपछि प्रशिक्षक मिकेल आर्टेटाले केही मुख्य खेलाडीलाई विश्राम दिने अवसर पाए। आर्सनल अब आइतबार वेम्ब्ली रंगशालामा हुने काराबाओ कप फाइनलमा म्यानचेस्टर सिटी सँग भिड्ने तयारीमा छ।
यस्तै गएरातिकै अर्को खेलमा पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बनले पहिलो लेगमा तीन गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै नर्वेको बोडो/ग्लिम्टलाई पराजित गरी युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ।
डेब्यु सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको बोडो/ग्लिम्ट यस वर्षको प्रतियोगिताको सबैभन्दा चर्चित टोलीमध्ये एक बनेको थियो। नर्वेको कुनै पनि क्लबले पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने कीर्तिमान समेत बोडो/ग्लिम्टले बनाएको थियो।
अन्तिम–१६ अन्तर्गतको पहिलो लेगमा बोडो/ग्लिम्टले स्पोर्टिङलाई ३–० ले पराजित गर्दै अर्को चरणमा पुग्ने बलियो सम्भावना बनाएको थियो। तर दोस्रो लेगमा पोर्चुगलको लिस्बनमा स्पोर्टिङले अविश्वसनीय पुनरागमन गर्यो।
स्पोर्टिङले खेलको सुरुदेखि नै आक्रमण सुरु गरे पनि पहिलो गोलका लागि ३४औँ मिनेट कुर्नुपर्यो। त्यस क्रममा गोन्कालो इनासियोले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए।
पहिलो हाफमा अधिकांश समय बोडो/ग्लिम्टले रक्षात्मक खेल खेले पनि उनीहरूले आफ्नो पहिलो कर्नरबाट ओडिन ब्योर्तुफ्टको हेडर पोस्टमा लागेर फर्किएको थियो। दोस्रो हाफमा स्पोर्टिङले दबाब अझ बढायो। लुइस सुआरेजको पासमा पेद्रो गोन्साल्भेसले शक्तिशाली प्रहार गर्दै गोल गरेपछि समग्र स्कोरमा अन्तर एक गोलमा झर्यो।
त्यसपछि भिडियो सहायक रेफ्री (भिएआर)को समीक्षा पछि फ्रेडरिक ब्योर्कानले ह्यान्डबल गरेको ठहर भएपछि स्पोर्टिङले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई सुआरेजले गोलमा परिणत गर्दै समग्र स्कोर बराबरी बनाए।
निर्धारित समयमा नतिजा ननिस्किएपछि खेल अतिरिक्त समयमा पुग्यो। अतिरिक्त समयको ९२औँ मिनेटमा म्याक्सी अराउजोले गोल गर्दै स्पोर्टिङलाई पहिलो पटक समग्र स्कोरमा अग्रता दिलाए। खेलको अन्त्यतिर राफाएल नेलले अर्को गोल थप्दै स्पोर्टिङको ऐतिहासिक पुनरागमन पूरा गरे।
यससँगै बोडो/ग्लिम्टको ऐतिहासिक च्याम्पियन्स लिग यात्रा समाप्त भएको छ। प्रतियोगिताबाट बाहिरिए पनि उत्कृष्ट प्रदर्शनका कारण टोलीले युरोपभर प्रशंसा बटुलेको छ।


प्रतिक्रिया दिनुहोस्