समानुपातिकतर्फको मतगणना सकियो: रास्वपाको दुई तिहाइ आएन !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०८२, बुधबार
2 Min Read
Aa

काठमाडौं – यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ।

पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले बताए।

- Advertisement -
Ad image

समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ। केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ।

यसैबीच आज बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ। गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार दुई सय ३५ सहित अग्रता कायम गरेको छ।

नेपाली काँग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार आठ सय ५४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत हासिल गरेका छन्। अन्य दल थ्रेसहाल्ड कटाउने स्थितिमा देखिएका छैनन्।

दलहरूले पाएको मतको आधारमा सिट बाँडफाँट गर्दा ६ दलले समानुपातिक सिट पाउने भएका छन्। यी ६ वटै दलले प्रत्यक्षतर्फ पनि कम्तीमा १ सिट जितेको हुनाले ६ वटै दलले राष्ट्रिय दलको मान्यता पाउने भएका छन्।

मतअनुसार सिट बाँडफाँट गर्दा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट पाउने भएको छ। नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट पाउनेछन् । यो सिट जोडिँदा रास्वपाको १८२ सिट हुनेछ। यो सिट संख्या २ तिहाइभन्दा २ सिट कम हो।


गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्