‘कर्णालीमा नेटवर्कसमेत छैन, शहरमा आर्यघाटसम्म फ्री वाइफाइ’ भन्दै मुगुका युवाको सञ्चारमन्त्रीलाई ज्ञापनपत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०८२, शुक्रबार
3 Min Read
Aa

काठमाडौं – कर्णाली प्रदेशको मुगु जिल्लामा आजसम्म पनि भरपर्दो दूरसञ्चार सेवा नपुगेको दीर्घकालीन समस्या समाधानका लागि स्थानीय युवाहरू राजधानी काठमाडौँमै पुगेका छन्। सोरु गाउँपालिकाका युवाहरूले नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री जगदीश खरेललाई भेटेर मुगुमा संचार अभावका गम्भीर पक्षहरू औँल्याउँदै ज्ञापनपत्र बुझाएका हुन्।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अशिष देवकोटाको नेतृत्वमा गएको प्रतिनिधि टोलीले कर्णालीजस्ता दुर्गम क्षेत्रहरूमा आधारभूत मोबाइल नेटवर्कसमेत नपुग्दा स्वास्थ्य, शिक्षा, बैंकिङ, अनलाइन सेवा र आपतकालीन सूचनामा कस्तो समस्याको सामना गर्नुपरेको छ भन्ने विषयमा मन्त्री खरेलको ध्यानाकर्षण गरायो।

- Advertisement -
Ad image

‘शहरमा आर्यघाटसम्म फ्री वाइफाइ, तर कर्णालीमा नेटवर्कसमेत छैन’

युवाहरूले सरकार शहरी केन्द्रमा प्रचारमुखी कार्यक्रम जस्तै आर्यघाटसम्म फ्री वाइफाइ-लाई प्राथमिकता दिँदै आएको, तर कर्णालीका गाउँमा अझै पनि नेटवर्क नपुगेको वास्तविक समस्या बेवास्ता भएको आरोप लगाए।

‘सेवा सबैका लागि बराबर हुनुपर्छ। ग्रामीण पहुँच विस्तार हुनु देशको समग्र विकासको आधार हो,’ टोलीका सदस्यहरूले भने।

गाउँपालिकाको आधिकारिक पत्रसमेत मन्त्रीलाई हस्तान्तरण

युवाले सोरु गाउँपालिकाको कार्यपालिकाले जारी गरेको आधिकारिक पत्र पनि मन्त्रीलाई बुझाएका छन्। उक्त पत्रमा गाउँपालिकाका ११ वटै वडामा दुरसञ्चार सेवा अत्यन्त कमजोर रहेको वा कतै पूर्ण रूपमा अवरुद्ध रहेको उल्लेख छ।

स्थानीयका अनुसार स्वास्थ्य सेवा, शिक्षा, बैंकिङ कारोबार, अनलाइन सेवा तथा आपतकालीन सूचनाको पहुँच अहिले गम्भीर रूपमा प्रभावित छ।

चार ठाउँमा नयाँ टावर वा स्तरोन्नतिको माग

गाउँपालिकाले सरकारसामु तत्काल निम्न स्थानहरूमा टावर निर्माण वा सेवा स्तरोन्नतिको माग राखेको छ—

वडा नं.७  बड्डीसल्यानी लेक: नयाँ 4G टावर स्थापना
वडा नं. ३  लामाकाँद लेक: अवस्थित नेपाल टेलिकम 4G टावर स्तरोन्नति
वडा नं.८  कच्चेकोट लेक: अवस्थित 4G सेवा स्तरोन्नति

वडा नं. १० वडा कार्यालयमा नयाँ 4G सेवा स्थापना

मन्त्री खरेल: कर्णाली प्राथमिक लक्ष्य क्षेत्र

ज्ञापनपत्र बुझेपछि मन्त्री खरेलले कर्णाली प्रदेश सरकारका लागि अत्यन्त प्राथमिकतामा रहेको बताउँदै छिट्टै तत्काल तथा दीर्घकालीन कार्ययोजना अघि बढाइने आश्वासन दिए।

उनले भने— ‘यो समस्या मैले यति स्पष्ट रूपमा पहिलोपटक सुनेँ। कर्णालीमा दूरसञ्चार सेवा विस्तारका लागि अब सरकारले तीव्रता दिन्छ। नागरिकले वास्तविक रूपमा सरकार भएको अनुभूति पाउने वातावरण बनाउने प्रतिबद्धता लिएको छु।’

स्थानीयमा आशा पुनः जागृत

युवाहरूको सक्रिय पहल, तथ्ययुक्त माग र गाउँपालिकाको आधिकारिक दबाबसँगै मुगुमा वर्षौंदेखि प्रतिक्षित दूरसञ्चार सेवा सुधार अब सम्भव हुने आशा स्थानीयबासीमा पलाएको छ।

सोरु गाउँपालिका र युवा समुदायको संयुक्त प्रयासले कर्णालीका दुर्गम बस्तीमा आधुनिक संचार सेवा पुग्ने बाटो खुल्ने विश्वास बढेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्