काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बुधबार राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो। पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्यो।
नेदरल्यान्ड्सले दिएको दुई सय २६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे। उनले ७८ रनको अर्धसतकीय पारी खेले। ९९ बल खेलेका आरिफले ७ चौका र दुई छक्का प्रहार गरे।
यस्तै दीपेन्द्र सिंह ऐरीले ३८ बनाउँदा ओपनर कुशल भुर्तेलले २५, आसिफ शेखले १९, कप्तान रोहित पौडेलले २३ तथा गुल्शन झा र भीम शार्कीले ११/११ रन बनाए। नेदरल्यान्ड्सका माइकल लेभिटले दुई विकेट लिए।
यसअघि स्कटल्याण्डको डुन्डेमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ अोभरमा सबै विकेट गुमाउँदै दुई सय २५ रन बनाएको थियो।
नेदरल्यान्ड्सका नोवा क्रसले सर्वाधिक ४८ तथा कप्तान स्कट एडवार्डसले ४६ रन बनाए। विक्रमजित सिंहले ३८ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। उनले ९.१ ओभरमा ४८ रन खर्चिए। यस्तै करन केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई दुई विकेट लिए।
जितसँगै प्रतियोगितामा नेपालले महत्वपूर्ण २ अंक जोडेको छ। १४ खेलमा चारजितसहित १० अंक जोडेको नेपाल तालिकाको सातौं स्थानमा यथावत छ।


प्रतिक्रिया दिनुहोस्