काठमाडौं – नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुन: स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आज गर्ने भनेको काठमाडौं उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ।
समितिले दोस्रो विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ।’
यसअघि समितिले आईतबार साँझ विज्ञप्ति जारी गरी सरकारले आफ्ना नेता-कार्यकर्तालाई दमन गरेको भन्दै आज काठमाडौँ उपत्यका बन्द गर्ने घोषणा गरेको थियो।
तर प्रहरीले आईतबार निषेधित क्षेत्र तोडेपछि पक्राउ गरिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंहलगायत ७ जनालाई छाड्नासाथ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज हुने भनिएको उपत्यका बन्दमा आफ्नो पार्टीको सहभागिता नरहने घोषणा गरेका थिए।
त्यसपछि लगत्तै नवराज सुवेदी संयोजकत्वको समितिले पनि बन्द कार्यक्रम नै फिर्ता लिएको हो।


प्रतिक्रिया दिनुहोस्