निर्वाचनमा रास्वपाका हरि ढकालसँग पराजित कांग्रेस नेता विश्वलाई गभर्नर ‘उपहार’ !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ बैशाख २०८२, आईतवार
2 Min Read
Aa

काठमाडौं – नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त भएको एक महिना बितिसक्दा पनि सरकारले नयाँ नियुक्ति गर्न सकेको छैन । राष्ट्र बैंक ऐनअनुसार गभर्नरको पद रिक्त हुनुअघि नै नयाँ नियुक्ति गरिसक्नुपर्ने प्रावधान छ । तर सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारीको जटिलताका कारण नियुक्ति प्रक्रिया एक महिनादेखि रोकिएको छ ।

सरकारले गठन गरेको सिफारिस समिति अहिलेसम्म बैठक बस्नसमेत सकेको छैन । गभर्नर कसलाई बनाउने भन्ने विषयमा प्रमुख दलहरूबीच भइरहेको अन्तरकलहका कारण समिति निष्क्रियजस्तै बनेको छ ।

- Advertisement -
Ad image

गभर्नर पद कांग्रेसले लिने समझदारी भएकोले कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेललाई नियुक्त गर्ने तयारी गरिरहेको छ। गभर्नर बन्ने चर्चा चलिरहँदा पौडेलले सिफारिस समितिबाट राजीनामा दिइसकेका छन्।

गएको राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेबीचको बैठकले पौडेललाई गभर्नरका लागि सिफारिस गर्ने निर्णय गरेको छ। पौडेलको नाम कांग्रेसले अघि सारेको हो। उनी पार्टी सभापति शेरबहादुर देउवाका निकट मानिन्छन्।

पौडेल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन–१ बाट कांग्रेसका उम्मेदवार थिए । उक्त निर्वाचनमा रास्वपाका हरि ढकाल विजयी हुँदा पौडेल तेस्रो स्थानमा परेका थिए । ढकालले ३४,१८९, एमालेका सुरेन्द्र पाण्डेले २६,६०८ र कांग्रेसका पौडेलले २४,९९० मत पाएका थिए।

यसअघि वैशाख ३ गते कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । सोही सहमति अनुसार भट्टले वैशाख ५ गते कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तर, कायममुकायम गभर्नर नीलम ढुंगानाले राजीनामा स्वीकृत नगरेपछि देउवाले विकल्पमा पौडेललाई अघि सारेका हुन्।

गत चैत २४ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको अवकाशपछि गभर्नर नियुक्ति प्रक्रिया कांग्रेस र एमालेको राजनीतिक रस्साकस्सीमा अल्झिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्