आज मिति वि.सं २०८१ चैत्र ३१ गते आईतबार ई.सं २०२५ अप्रिल १३ नेपाल सम्बत ११४५ चिल्लाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल प्रतिपदा, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, हर्षण योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ४१ मा भयो भने सूर्यास्त साँझ ०६ बजेर २७ मिनेटमा हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कुनै लामो यात्राको योजनामा हुनुहुन्छ भने प्रक्रिया अघि बढाउने समय छ । विछोडिएका परिवारजनसँग भेटघाट हुने देखिन्छ । कमी-कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । आजको दिन साथीभाइसँग सन्तुलित व्यवहार गर्ने प्रयास गर्नुहोला । हठ गर्ने बानीले दुःख पाइनेछ । जागिरमा पनि सावधान रहनु हितकर हुनेछ । साँझपख उमङ्ग-उत्साह जागृत हुने योग छ । आफन्तजनको साथ मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): केही खर्च लागे पनि सोचेको काम बन्ने दिन छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला । महत्वपूर्ण कार्ययोजनामा हुनुहुन्छ भने प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रेमभाव वृद्धिका साथै परिवारिक सुख र उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): रचनात्मक कार्यले फाइदा दिलाउने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् जसले दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अवसर आए पनि मौकामा चाहेजस्तो लाभ उठाउन नसकिने योग छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा होला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिएर तपाईंलाई प्रयोग गर्ने प्रयत्न हुनसक्छ, सचेत रहनुहोला । सरसापटमा धन खर्च हुनसक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । स्वास्थ्यमा पनि सामान्य कमजोरी अनुभूति हुनसक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ, ध्यान राख्नुहोला । केही प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । जटिल काम पनि सजिलै बन्नाले उत्साह जागृत होला । समयलाई पछ्याउने भरपुर प्रयत्न गर्नुहोला, अन्यथा पछि पछुतो अनुभूति हुन सक्छ । भौतिक साधनको प्रयोग गर्नुहुन्छ भने पूरै भर पर्न नसकिने समय छ, याद राख्नुहोला । व्यापारमा विशेष फाइदा उठाउन सकिने योग छ । आरोग्यबल बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): परिस्थिति अलिक प्रतिकूल रहेको अनुभूति हुनसक्छ तर विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । सहयोगीहरूले काममा साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने तथा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । बिछोडिएका आफन्तसँग भेटघाट हुने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त होला । दैनन्दिन कार्यगति बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मनमा कुनै प्रकारको त्रास थियो भनेपनि उत्साहमा रूपान्तरित हुने दिन छ । फुर्सदको अनुभूति हुनुका साथै रमाइलो यात्राको अवसर मिल्न सक्छ । लाभका लागि परिस्थितिसँग केही सम्झौता गर्नु हितकर होला । विभिन्न सहयोग र उपहार प्राप्त हुनसक्छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने योग छ । आयबल वृद्धिका साथै यशवर्चश्व बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबल र सामर्थ्य वृद्धि हुनेछ भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । मिठो भोजनको अवसर जुर्ला । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सोखले खर्च बढाउने योग छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सचेत रहनुहोला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । प्रतिष्पर्धीहरू परास्त हुनेछन् ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त भएपनि सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । आश्वासन दिनेले झुक्याउन सक्ने समय छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नसक्नेमा सजग रहनु उचित होला । साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ । मित्रजनको साथ मिल्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुन सक्छन् । पठनपाठन कार्यमा पनि प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ भने विभिन्न अवसर प्राप्त हुनेछन् । साँझतिर महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । दाम्पत्यसुख बढ्नेछ । सबल स्वास्थ्यका लागि सजगता अपनाउनुपर्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिएला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । काम बिग्रने डरले सताए पनि प्रयत्न जारी राख्नु हितकर होला । थोरै लाभ भए पनि ठूलै आवश्यकता पूरा हुने देखिन्छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्