काठमाडौंमा रविको बयान सकियो: भोली पोखरा लगिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका अनुसार सोमबार लामिछानेको बयान सकिएको हो । प्रहरीले शुक्रबारबाटै उनको बयान लिएको थियो । तर, नसकिएपछि सोमबार पनि सरकारी वकिलको कार्यालयमा लगेको थियो । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो ।

- Advertisement -
Ad imageAd image

त्यसअनुसार, लामिछानेलाई १३ मंसिरमा काठमाडौं ल्याइएको थियो । कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याएर उनीमाथि बयान लिइएको हो । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबी राईको नाममा दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको छ । लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको पाइएको थियो ।

बयानपछि लामिछानेलाई भोली प्रहरीले पोखरा लैजानेछ । सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्