काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको हिजोको वर्षा र विवादले छोट्याइएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि ३५ रनको सानदार जित दर्ता गरेको छ। लगातार दुई हार बेहोरेको विराटनगरका लागि प्रतियोगितामा यो पहिलो जित हो।
वर्षाका कारण ५–५ ओभरमा खेलाइएको म्याचमा विराटनगरले खडा गरेको १०६ रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले निर्धारित ५ ओभरमा ३ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले विस्फोटक ब्याटिङ गर्दै मात्र ६ बलमा ४ छक्का र १ चौकासहित सर्वाधिक २८ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै सैफ जैब र आरिफ शेखले समान १७/१७ रनको योगदान दिए। ओपनर सेर्फेन रदरफोर्ड शून्य रनमै आउट भए भने कप्तान दीपेन्द्रसिंह ऐरी पनि मात्र १ रनमा पेभेलियन फर्किए।
सुदूरपश्चिमलाई सस्तैमा रोक्न विराटनगरका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। आन्द्रे रसेलले २ ओभरमा मात्र ८ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए। त्यस्तै रुपेश सिंह र एन्जेलो म्याथ्युजले पनि १/१ विकेट चट्काए।
यसअघि ब्याटिङ गरेको विराटनगरले शेहान जयसूर्याको ३९ रन र आन्द्रे रसेलको अविजित २९ रनको मद्दतमा २ विकेट गुमाएर १०५ रनको विशाल योगफल तयार पारेको थियो। खेलको अलराउन्ड प्रदर्शनका लागि विराटनगरका आन्द्रे रसेल ‘प्लेयर अफ दि म्याच’ चुनिएका छन्।


प्रतिक्रिया दिनुहोस्