काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षा र विवादका कारण ५ ओभरमा छोट्याइएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्ससामु १०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ५ ओभरमा मात्र २ विकेट गुमाउँदै १०५ रनको विष्फोटक योगफल तयार पार्यो।
विराटनगरका लागि शेहान जयसूर्याले मात्र ११ बलमा ५ छक्का र २ चौकाको मद्दतले अविजित ३९ रनको आक्रामक इनिङ्स खेले। त्यस्तै आन्द्रे रसेलले १० बलमा ३ छक्का र २ चौका प्रहार गर्दै विस्फोटक २९ रन जोडे भने लोकेश बमले पनि १० बलमा ३ छक्कासहित २५ रनको योगदान दिए।
सुदूरपश्चिमका बलरहरू विराटनगरका ब्याटरसामु निकै महँगो साबित भए। अविनाश बोहराले २ ओभरमा २८ रन खर्चेर २ विकेट लिए पनि थरिन्दु रथानायकेले १ ओभरमा ३१ रन र हेमन्त धामीले १ ओभरमा २५ रन खर्चिन पुगे।
सुरुमा ५ ओभरको खेलप्रति असहमति जनाउँदै सुदूरपश्चिमका खेलाडीहरू मैदान बाहिरिए पनि अन्ततः सहमति जुटेर खेल अघि बढेको हो। अहिले सुदूरपश्चिम रोयल्स १०६ रनको कठिन लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङको तयारीमा छ।


प्रतिक्रिया दिनुहोस्