काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा आधा घन्टा भेट भएको छ । प्रधानमन्त्री स्रोतका अनुसार ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो ।
भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन् । उनले भेट फलदायी भएको उल्लेख गरेका छन् ।
भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र दुवै देशका परराष्ट्र सचिवहरु सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी थिए ।
भेटमा दुई देशका बीचमा देखिएका कतिपय अष्पष्टताहरुलाई कुटनीतिक संयन्त्र बनाएर समाधान गर्ने सहमति भएको छ । यसअघि नै बनेको इपिजी नै सक्रिय गराउने वा नयाँ संयन्त्र बनाउने भन्नेबारे स्पष्ट हुन सकेको छैन । ओली चाैथोपल्ट प्रधानमन्त्री बनेपछि भारतीय समकक्षी मोदीसँग यो पहिलो भेटवार्ता हो ।


प्रतिक्रिया दिनुहोस्