काठमाडौँ – लिभरपुल पुन: इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । लिभरपुलले मंगलबार रेलिगेसन क्षेत्रमा रहेको बर्नलीलाई २ – ० ले हराउँदै लिभरपुल पहिलो स्थानमा उक्लिएको हो । लिभरपुललाई जित दिलाउन डार्विन नुनेज र डिएगो जोटाले गोल गरेका थिए।
बर्नलीको मैदानमा लिभरपुलले खेल सुरु छैटौं मिनेटमै अग्रता लिएको थियो। नुनेजले कोडी गाक्पोको पासमा गोल गरेका हुन् । खेलको अन्तिम मिनेटमा जोटाले गोल गरेसँगै लिभरपुलको जित निश्चित भएको थियो। १९ खेलमा लिभरपुलको ४२ पुगेको छ । एक खेल कम खेलेको आर्सनलको ४० अंक छ । १९ औं स्थानमा रहेको बर्नलीको ११ अंक छ ।
यस्तै प्रिमियर लिग अन्तर्गत मंगलबार नै भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजलण्डले निर्णायक गोल गरेका थिए । पहिलो हाफमा २-० गोल अन्तरले पछि परेको युनाइटेडले खेलको दोस्रो हाफमा कमब्याक गर्दै जित निकालेको थियो । म्यानचेस्टर युनाइटेडका लागि शुरुवाती दुवै गोल अलेजान्द्रो गार्नाचोले गरेका थिए ।
यसअघि पहिलो हाफमा एस्टन भिल्लाका लागि जोन म्याकगीन र् लीन्डर डेनडोंकरले एक एक गोल गरेका थिए । यो म्यानचेस्टर युनाइटेडको यस सिजनको १०औं जित हो । यो जितपछि १९ खेलमा ३१ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा छैटौं स्थानमा उक्लिएको छ ।
त्यस्तै एस्टन भिल्लाको भने यो यस सिजनमा चौथो हार हो । १९ खेलमा ३९ अंक रहेको भिल्ला लिगमा तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्