प्रिमियर लिगमा आर्सनल र एस्टन भिल्लाले जित निकाल्दा लिभरपुल र युनाइटेडको बराबरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ पुष २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनल र एस्टन भिल्ला विजयी भएका छन् । आर्सनलले ब्राईटन विरुद्ध जित हासिल गर्दै भिल्लाले ब्रेन्टफोर्डलाई हराएको छ । आर्सनलले घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा ब्राईटनलाई २–० ले हरायो ।

ग्याब्रिएल जिससले ५३औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । बुकायों साकाको कर्नर ब्राईटनले क्लियर गर्न नसकेपछि फार–पोस्टमा हेडर मार्फत गोल गरेका थिए ।

- Advertisement -
Ad image

अर्को गोल भने आर्सनलले ८७ औं मिनेटमा गरेको थियो । एडी एन्केटियाको पासमा काई हावर्ट्जले गोल गर्दै जित निश्चित गरे । जित पछि आर्सनल १७ खेलमा ३९ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ ।

यस्तै एस्टन भिल्लाले ब्रेन्टफोर्ड विरुद्ध पुनरागमन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । भिल्लाको जितमा एलेक्स मोरेनो र ओली वाटकिन्सले गोल गरेका हुन् ।

यस्तै १७औं चरणका खेलहरू सुरु हुनु अगाडी शीर्ष स्थानमा रहेको लिभरपुल चिर प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ । घरेलु मैदान एनफिल्डमा आइतबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको युनाइटेडका लागि भने यो राम्रो नतिजा रह्यो । गत सिजन लिभरपुल विरुद्धको अवे खेलमा युनाइटेड ७-० ले पराजित भएको थियो ।

कप्तान ब्रुनो फर्नान्डेज एक खेलका लागि निलम्बनमा परेपछि उनी विना मैदानमा उत्रिएको खेलमा युनाइटेडले लिभरपुललाई धेरै अवसरहरू बनाउन दिएन । उता युनाइटेडले पनि अट्याकमा खासै केही गर्न पनि सकेन ।

१६औं मिनेटमा मोहम्मद सालाहको बक्स भित्रबाट लिएको प्रहार डिफ्लेक्ट भएर बाहिर गयो। २८औं मिनेटमा भर्जिल भान डाइकको हेडर युनाइटेड गोलरक्षक आन्द्रे ओनानाले बचाए ।

३७औं मिनेटमा लिभरपुल डिफेन्डर कोनाटेको हेडर पोस्टको माथिबाट बाहिरियो । ५५औं मिनेटमा युनाइटेडका गार्नाचोको प्रहार लिभरपुल डिफेन्डर अलेकजेन्डर-आर्नोल्डले ट्याकल गरेर बचाए ।

६६औं मिनेटमा अलेकजेन्डरले बक्सको छेउबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो । त्यसको दुई मिनेट पछि युनाइटेडका रास्मस होइलंडको प्रहार लिभरपुल गोलरक्षक एलिसनले बचाए । ७७औं मिनेटमा कोनाटेको प्रहार सिधै ओनानाको हातमा पुग्यो ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा लिभरपुलका कोडी गाक्पोको फ्रि हेडर पोस्टको दिशामा जान सकेन । खेलको अन्तिम समयमा युनाइटेडका राइट-ब्याक डियोगो डालोट दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीले खेल समाप्त गरेको थियो ।

बराबरी पछि लिभरपुल १७ खेलमा ३८ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको पनि समान ३८ अंक नै छ । पहिलो स्थानमा रहेको आर्सनलको ३९ अंक छ । म्यानचेस्टर युनाइटेड भने १७ खेलमा २८ अंक सहित सातौं स्थानमा छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्