काठमाडौं – म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिगको नकआउट सम्भावना कमजोर बनेको छ। बुधबार राति भएको खेलमा टर्किस क्लब गालाटासारेसँग ३-३ गोलको बराबरी खेल्दा युनाइटेडको संकट बढेको हो।
खेलकाे ११ औं मिनेटमा नै युनाइटेडले अग्रता बनाएको थियो। ब्रुनो फर्नान्डेसको पासमा एलेजान्द्राे गार्नाचोले ११ औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाए। लगत्तै १८ औं मिनेटमा फर्नान्डेसले टिमको अग्रता दोब्बर बनाए।
२९ औं मिनेटमा जियाचले गालाटासारेलाई खेलमा फर्काउँदै टिमलाई २-१ को अवस्थामा ल्याए।
दोस्रो हाफमा युनाइटेडेले अग्रता फराकिलो बनायो। उसका लागि ५५ औं मिनेटमा म्याक्टोमिनियाले तेस्रो गोल गर्दा युनाइटेडले ३ अंक प्राप्त गर्ने अनुमान गरिएको थियो। तर जियाचले नै ६२ औं मिनेटमा दोस्रो गोल गर्दै युनाइटेडमाथिको दबाब कायम राखे।
टिमका लागि बराबरी गोल अक्टुरकोग्लुलले ७१ औं मिनेटमा गर्दा युनाइटेड निरास बनेको थियो।
अब नकआउट चरणमा स्थान बनाउन युनाइटेडले समूह चरणको अन्तिम खेलमा बार्यनलाई म्युनिखलाई पराजित गर्नु पर्ने छ। साथमा कोपनहेगन र गालाटासारेले बराबरी खेल्नु पर्ने छ। अन्यथा युनाइटेड समूह चरणबाटै बाहिरिने छ।
समूहमा बार्यन कोपनहेगनसँग गोलरहित बराबरी खेले पनि यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। बार्यन पाँच खेलबाट १३ अंकका साथ शीर्ष स्थानमा रहँदा कोपनहेगन र गालाटासारेको समान ५-५ अंक छ। पुछारको युनाइटेडको ४ अंक छ।


प्रतिक्रिया दिनुहोस्