काठमाडौं – ६० किलो सुन प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो।
पक्राउ परेकामध्ये एक जनासँग भने धरौटी माग गरिएको छ। भन्सार एजेन्ट रूक्मिना सुब्बासँग पाँच लाख धरौटी माग गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए। भदौ ३१ गते सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २९ जनामाथि मुद्दा दायर गरेको थियो।
काठमाडौंमा जिल्ला अदालतमा दायर मुद्दामा तीन अर्ब ५० करोड रुपैयाँ बिगो दाबी गरिएको छ। सुरुमा राजश्वले बरामद गरेको सुन प्रकरणमा पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो।
उनीहरुविरुद्ध अवैध चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐन र संगठित अपराधसमेतको कसुरमा मुद्दा चलाइएको छ। हङकङबाट ब्रेक शुमा लुकाएर ल्याएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो।


प्रतिक्रिया दिनुहोस्