समसामयिक विषय र मधेश सरकारबारे छलफल
काठमाडौं – पछिल्लो समय १८ करोडको अडिओ प्रकरण र प्रधानमन्त्री बालेन शाहसँगको दोहोरीका कारण राजनीतिक वृत्तमा निकै चर्चामा रहेका नेपाली कांग्रेसका सभापति गगन थापा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास पुगेका छन्।
मंगलबार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा रहेको ओली निवासमा दुई नेताबीच झण्डै एक घण्टा लामो भेटवार्ता भएको हो। साँझ ६:५० बजे ओली निवास पुगेका थापा राति ७:५५ बजेसम्म त्यहाँ रहेका थिए।
पार्टीभित्र र बाहिर विभिन्न विवाद तथा आरोप-प्रत्यारोपको सामना गरिरहेका सभापति थापा र पूर्वप्रधानमन्त्री ओलीबीचको यो आकस्मिक भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा मधेश सरकारको समीकरणका विषयमा केन्द्रित रहेर गम्भीर छलफल भएको दुवै नेताका सचिवालय स्रोतले जनाएका छन्।
पछिल्ला विकसित राजनीतिक तरंगहरूका बीच संसद्का दुई ठुला विपक्षी दलका शीर्ष नेताहरूबीच भएको यस संवादले राजनीतिक वृत्तमा थप चासो र नयाँ समीकरणको बहस सिर्जना गरिदिएको छ।


प्रतिक्रिया दिनुहोस्