सेन्सर बोर्डबाट पास भएको केही घण्टामै हरिवंश आचार्य अभिनीत ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौं – कात्तिक २० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शनमा सरकारले रोक लगाएको छ। चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट बिनाकुनै काँटछाँट सबै उमेरका समूहले हेर्न मिल्ने ‘युनिभर्सल सर्टिफिकेट’ पाएको केही घण्टामै गृह मन्त्रालयले यस्तो आकस्मिक निर्देशन दिएको हो।

गृह मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गर्दै चलचित्रको प्रदर्शन र सिनेमा हलहरूमा भइरहेको अग्रिम टिकट बुकिङसमेत तत्काल रोक्न निर्देशन दिएको छ। विश्व हिन्दू परिषद् लगायतका विभिन्न धार्मिक संघसंस्थाहरूले चलचित्रको ट्रेलर र प्रचार सामग्रीलाई लिएर आपत्ति जनाएपछि सरकारले यो कदम चालेको बुझिएको छ।

- Advertisement -
Ad image

महाभारतका पवित्र पात्रहरू पाँच पाण्डव र द्रौपदीलाई आधुनिक एवं हास्यप्रधान शैलीमा अनुचित ढंगले चित्रण गरी सनातन धर्म र धार्मिक आस्थामाथि आघात पुर्‍याएको आरोप ती संस्थाहरूले लगाएका छन्।

यता चलचित्रका मुख्य अभिनेता हरिवंश आचार्य र निर्देशक वसन्त निरौलाले भने यो चलचित्र धार्मिक कथामा आधारित नभई समाजका विकृतिविरुद्धको संघर्षलाई देखाउन महाभारतका पात्रहरूको नामलाई प्रतीकको रूपमा मात्र प्रयोग गरिएको स्पष्ट पारेका छन्।

सेन्सर पास भइसकेको अवस्थामा अचानक प्रदर्शन रोकिँदा करोडौँको लगानी जोखिममा परेको भन्दै निर्माण पक्ष पूर्वनिर्धारित मितिमै चलचित्र प्रदर्शनको वातावरण मिलाउन सरकारसँग तत्काल वार्ता गर्ने तयारीमा जुटेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्