काठमाडौं – लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
आनी छोइङको नियुक्ति कानुनी प्रक्रिया र निर्धारित मापदण्डविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सर्वोच्च अदालतमा रिट दायर गरेको हो।
नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि अभियानले प्रश्न उठाएको छ।
अभियन्ता अजय सोडारीका अनुसार नियुक्तिको विषयमा अभियानले यसअघि पनि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो। सरकारले सुनुवाइ नगरेपछि नियुक्तिको कानुनी वैधता परीक्षण र विधिको शासन सुनिश्चित गर्न अदालतको ढोका ढकढक्याउनुपरेको उनले बताए।
सुनील सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीका तर्फबाट दायर गरिएको उक्त रिटमा सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको हो।
रिट निवेदकहरूले आनी छोइङ डोल्मा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आवश्यक योग्यता नपुगेको जिकिर गरेका छन्।
सरकारले गत असोज ३० गते आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। उनले मंसिर २ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्