काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले देशका केही पहाडी तथा हिमाली भूभागमा मौसमी बदलाब आउने देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसममा आएको यो बदलावसँगै पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने र चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सम्पूर्ण भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
तराईका केही भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख हुस्सु र कुहिरो लागे पनि दिउँसो घाम लाग्ने देखिन्छ। रातिको समयमा भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सफा रहने पूर्वानुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्