काठमाण्डौ – म्यानचेस्टर युनाइटेड लगातार दोस्रोपटक आफ्नो घरेलु मैदानमा पराजित भएको छ । क्रिस्टिल प्यालेसले युनाइटेडलाई १–० गोलले हराएको हो । खेलमा जोआचिम एन्डरसनले २५ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । पछिल्ला पाँच दिनमा दुई टोलीको यो दोस्रो भेट थियो । मंगलबार एरिक टेन हागको टोलीले प्यालेसलाई ३–० ले पराजित गरेको थियो ।
तर उक्त खेलमा प्यालेसले सुरुवाती ११ का थुप्रै खेलाडीलाई आराम दिएको थियो । शनिबारको खेलमा भने प्यालेसले उत्कृष्ट प्रदर्शन गरेको थियो । जीतसँगै युनाइटेडलाई उछिन्दै प्यालेस लिगको नवौँ स्थानमा पुगेको छ । युनाइटेड १० औँ स्थानमा रहेको छ ।
यस्तै साबिक विजेता म्यानचेस्टर सिटीको प्रिमियर लिगको नयाँ सिजनमा शत प्रतिशत नतिजामा पूर्णविराम लागेको छ । शनिबार राति भएको खेलमा सिटी वूल्भ्सँग स्तब्ध बन्यो । रुवेन डियासले आत्मघाती गोल गरेपछि वूल्भ्सले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । तर, दोस्रो हाफमा जुलियन अल्भारेजले खेल बराबरी गरे । यद्यपि यो लामो समय कायम रहन सकेन ।
६६ औँ मिनेटमा ह्वाङ हि चानले निर्णायक गोल गर्दै सिटीलाई झट्का दिए । खेलमा सिटीका म्यानेजर प्रतिबन्धका कारण टच लाइनमा उभिन पाएका थिएनन् भने अर्लिङ हालाल्डले खेल अवधिभर मात्र एउटा गोलको अवसर पाएका थिए । पराजयका बावजुद सिटी ७ खेलबाट १८ अङ्क बटुल्दै लिगको शीर्ष स्थानमा कायम छ । वूल्भ्स भने ७ अङ्कसहित लिगको १३ औँ स्थानमा छ ।
शनिबार नै भएका अन्य खेलमा एस्टन भिल्लाले ब्राइटनलाई ६–१ गोलले हरायो भने एभर्टन नवप्रवेशी लुटोनसँग १–२ गोलले पराजित भयो ।


प्रतिक्रिया दिनुहोस्