काठमाण्डौ – युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बार्यन म्युनिखले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई रोमाञ्चक खेलमा ४-३ गोलले पराजित गरेको छ।
समूह ‘ए’ अन्तर्गत भएको खेलमा पहिलो हाफमा युनाइटेड विरुद्ध २ गोलको अग्रता बनाएको बार्यन विरुद्ध दोस्रो हाफमा युनाइटेड खेलमा फर्किएको थियो। तर इन्ज्युरी समयमा म्याथिस टेलले गरेको गोल निर्णायक बन्यो।
बार्यनको घरेलु मैदानमा लिरायो सानेको गोलमार्फत् बार्यनले २८ औं मिनेटमा अग्रता बनायो। सर्गे गिनाब्रीले ३२ औं मिनेटमा अग्रता दोब्बर पार्दा पहिलो हाफमा नै घरेलु टोली बलियो बन्यो।
तर दोस्रो हाफमा रासमुस होजलुन्डको गोलमार्फत् युनाइटेडले ४९ औं मिनेटमा एक गोल फर्कायो। रासफोर्डको पासलाई उनले सदुपयोग गरेका थिए। तर भिएआरको सहयोगमा बार्यनले पेनाल्टी पायो।
क्रिस्टियन एरिक्सनले डिबक्समा हेन्ड गरेपछि पाएको पेनाल्टीलाई ह्यारी केनले ५३ औं मिनेटमा गोल गर्दा बार्यन ३-१ को अग्रता बनाउन सफल भयो।
तर कासिमेरोले युनाइटेडको आस कायम राख्न ८८ औं मिनेटमा दोस्रो गोल गरे। तर इन्ज्युरी समयको दोस्रो मिनेटमा म्याथिज टेलले गोल गर्दा ४-२ को अग्रता बनाउन बार्यन सफल भयो।
लगत्तै इन्ज्युरी समयको पाँचौं मिनेटमा युनाइटेडका लागि कासिमेरोले तेस्रो गोल गरे पनि टिमको हार टार्न पर्याप्त भएन। समूह ‘ए’ कै अर्को खेलमा गलातसारे र एफसी कोपनहेगनले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे।


प्रतिक्रिया दिनुहोस्