काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि ब्रेन्टफोर्डले सानदार जित निकालेको छ । लन्डनस्थित ब्रेन्टफोर्डको घरेलु मैदान जिटेक कम्युनिटी स्टेडियममा गएराति भएको खेलमा चेल्सीलाई ३–० गोलले हराउँदै ब्रेन्टफोर्डले सहज जित निकालेको हो ।
ब्रेन्टफोर्डका जेडन एन्थोनी, इगोर थियागो र फाबियो काभोल्होले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए । खेलको ६१औँ मिनेटमा ब्रेन्टफोर्डका लागि एन्थोनीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि ८४औँ मिनेटमा थियागो र इन्जुरी समयको चौथो मिनेटमा फाबियोले गोल गर्दै चेल्सीविरुद्ध ३–० गोलको जित निकाले । जारी लिगमा ५ खेल खेलेको ब्रेन्टफोर्ड ९ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । पराजित भएको चेल्सी समान खेलबाट ७ अंकसहित सातौँ स्थानमा छ ।
यस्तै जर्मनीको म्युनिखस्थित एलियान्ज एरेना रङ्गशालामा गएराति भएको खेलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि ७–० गोलको फराकिलो जित निकालेको छ । बायर्नको जितमा माइकल ओलिसेले ह्याट्रिक गर्दा ह्यारी केनले दुई गोल गरे । योसँगै बुन्डेसलिगामा १ सय गोल पूरा गर्दै केनले नयाँ कीर्तिमान बनाएका छन् ।
यस्तै, जमाल मुसियाला र वैकल्पिक खेलाडी इस्माएल साइबारीले एक–एक गोल गरेका थिए । खेलको १८औँ मिनेटमा मुसियालाले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ह्यारी केनले ३९औँ र ५४औँ मिनेटमा गोल गर्दै ३–० गोलको अग्रता दिलाए ।
यस्तै, माइकल ओलिसेले ४३, ७३ र ७६औँ मिनेटमा तथा ७०औँ मिनेटमा साइबारीले गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्