हल सिटीसँग म्यानचेस्टर युनाइटेड स्तब्ध, नवप्रवेशी टोलीको ऐतिहासिक जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमै उपाधि दाबेदार म्यानचेस्टर युनाइटेड स्तब्ध भएको छ। ९ वर्षपछि प्रिमियर लिगको शीर्ष डिभिजनमा फर्किएको नवप्रवेशी क्लब हल सिटीले युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै सनसनीपूर्ण सुरुआत गरेको हो।

हल सिटीको घरेलु मैदान एमकेएम स्टेडियममा भएको खेलमा म्यानचेस्टर युनाइटेडले खेल अवधिभर ७२ प्रतिशत बल पोसेसन आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन। माइकल क्यारिकको प्रशिक्षणमा मैदान उत्रिएको युनाइटेडको फितलो फिनिसिङ र हल सिटीको बलियो रक्षापङ्क्ति खेलको निर्णायक मोड बन्यो।

- Advertisement -
Ad image

खेलको १७औँ मिनेटमा हल सिटीका डिफेन्डर सेमी अजायीले क्लोज-रेन्जबाट गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ३८औँ मिनेटमा हल सिटीका लागि डेब्यु गरिरहेका अर्का डिफेन्डर नोबेल मेन्डीले रेगन स्लेटरको उत्कृष्ट फ्रिकिकमा हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफमा म्यानचेस्टर युनाइटेडले खेलमा फर्कन निकै प्रयास गर्‍यो। ब्रायन म्बेउमो र कप्तान ब्रुनो फर्नान्डेसका आधा दर्जन उत्कृष्ट प्रहारहरूलाई हल सिटीका गोलरक्षक कोन्स्टान्टिनोस जोलाकिसले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर युनाइटेडविरुद्ध हल सिटीले हात पारेको यो नै पहिलो ऐतिहासिक जित हो।

यो अप्रत्याशित हारसँगै म्यानचेस्टर युनाइटेडको नयाँ सिजनको यात्रा निराशाजनक बनेको छ भने हल सिटीले घरेलु मैदानमा तीन महत्त्वपूर्ण अङ्क जोड्दै सानदार पुनरागमनको सङ्केत दिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्