काठमाडौं – एस्टन भिल्लाले आगामी सिजनको युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। लिभरपुल विरुद्ध शुक्रबार भएको खेलमा४-२ को प्रभावसाली जित निकाल्दै भिल्लाले शीर्ष ५ मा आफ्नो स्थान पक्का गरेको हो। भिल्लाको जितमा ओली वाटकिन्स नायक बने। उनले दुई गोल गर्दा अर्को एक गोलका लागि अवसर प्रदान गरेका थिए।
पहिलो हाफमा मोर्गन रोजर्सको उत्कृष्ट गोल मार्फत भिल्लाले अग्रता लिएको थियो। त्यसपछि दोस्रो हाफ सुरु भएको केही समयमै भर्गिल भान डाइकले हेडमार्फत लिभरपुललाई बराबरीमा ल्याए।
तर पाँच मिनेटपछिनै डोमिनिक सोबोजलाइ चिप्लिएपछि वाटकिन्सले त्यसको फाइदा उठाउँदै भिल्लालाई फेरि अग्रता दिलाए। उनले ७३औँ मिनेटमा टिमका लागि अर्को गोल थप्दै जित निश्चित गरे। टिमका लागि जोहन म्यागिनीले चौंथो गोल थप्दै खेललाई एकतर्फी बनाए। इन्जुरी समयमा भान डाइकले अर्को गोल फर्काए पनि त्यो लिभरपुलको हार टार्न पर्याप्त भएन।
हारसँगै प्रशिक्षक आर्ने सल्टले लिभरपुलको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना अझै निश्चित हुन नसकेको बताए। अब यो प्रतिस्पर्धा सिजनको अन्तिम दिनसम्म पुग्न सक्ने देखिएको छ, जसमा ब्राइटन र बोर्नेमाउथको नतिजा महत्वपूर्ण हुने छ।


प्रतिक्रिया दिनुहोस्