काठमाडौँ – युइएफए च्याम्पियन्स लिग अन्तर्गत चेल्सीले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा एस्टेभाओ र लियाम डेलेपले एक एक गोल गरेका थिए भने बार्सिलोनाका जुलेस कुण्डेले एक आत्मघाती गोल गरेका थिए । यस खेलमा रोनाल्ड अराउजोले खेलको ४४औं मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि चेल्सीको ५ खेलमा १० अंक भएको छ र हाल पाँचौं स्थानमा रहेको छ । त्यस्तै बार्सिलोनाको भने यस सिजनको च्याम्पियन्स लिगमा यो दोस्रो हार हो । बार्सिलोनाको ५ खेलमा ७ अंक रहेको छ र हाल १५ औं स्थानमा रहेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा भिल्लारियालविरुद्ध बोरुसिया डोर्टमण्डले ४-० को शानदार जित दर्ता गरेको छ। १० खेलाडीमा सीमित भिल्लारियालविरुद्ध डोर्टमण्ड हाबी भएको हो।
पहिलो हाफको पूरा समयसम्म गोलरहित बराबरी खेलेको डोर्टमण्डले अतिरिक्त समयमा सेरहु ग्विरासीको गोलमा १-० को अग्रता लिएको थियो। उसले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्दै तीन गोल गरेको हो। खेलको ५२ औं मिनेटमा भिल्लारियालका जुआन फोएथले रातो कार्ड पाएपछि टिम थप दबाबमा परेको थियो।
१० खेलाडीमा सीमित भएको भिल्लारियलविरुद्ध डोर्टमण्डले दोस्रो हाफमा लगातार तीन गोल गरेको हो। खेलको ५४ औं मिनेटमा ग्विरासीले दोस्रो गोल गरे भने ५८ औं मिनेटमा करिम अडेयेमीले थप गोल गर्दै खेल एकतर्फी बनाए।
अतिरिक्त समयमा ड्यानियल स्वेन्सले गोल गर्दै ४-० को एकतर्फी शानदार जित दर्ता गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्