दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०८२, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – विवादास्पद अभिव्यक्ति दिदै हिडेका राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका प्रसाईं अहिले मध्यरातमा भक्तपुरको पुरानाे ठिमीस्थित निवासबाटै पक्राउ परेका हुन्।

- Advertisement -
Ad imageAd image

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले उनलाई पक्राउ गरेको पुष्टि गरे। उनी जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीद्वारा उनी पक्राउ परेका हुन् । उनलाई अहिले जिल्ला प्रहरी प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखिएको छ।

आन्दोलन घोषणा गरेर भड्कापूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको बताइएको छ।

उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । यतिमात्रै होइन देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरुलाई चेतावनी दिएको सार्वजनिक भएको थियो ।

सोमबार मात्रै पनि प्रसाईंले भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखाएकाले पूर्वघोषित आन्दोलन नरोकिने बताएका थिए । उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आन्दोलनलाई कसैले रोक्न नसक्ने धारणा राखेका थिए ।

त्यस्तै प्रसाईंले जेनजीले उठाएका मुद्दामा भन्दा वर्तमान सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाएका थिए ।

आफूहरूले अघि सारेका एजेन्डाका बारेमा जनमत सङ्ग्रह गर्नुपर्ने उनको भनाइ थियो । प्रसाईं नेतृत्वको समूहले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितको एजेण्डा अघि सार्दै आएको छ । उनको मागका सम्बन्धमा कात्तिक २६ गते गृह मन्त्रालयमा वार्ता समेत भएको थियो । तर उक्त वार्ता निष्कर्षविहीन भएको थियो ।

निर्वाचनको सुरक्षा तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा सुरक्षा प्रमुखहरूले अराजक अभिव्यक्तिबारे पनि छलफल गर्नुपर्ने भन्दै प्रसंग निकालेका थिए । बैठकले हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ अघि बढ्ने निर्णय गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्