काठमाडौं – बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ खुला गर्न लागेको हो । आईपीओमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाँउपालिकाका सबै वडाह, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरुले ५ लाख ६६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ५ लाख २९ हजार ४०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछ । स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई सेयर बाँडफाँट गरिसकेपछि मात्र सर्वसाधारणलाई आईपीओ जारी हुनेछ । स्थानीय बासिन्दाले छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म आवेदन दिन पाउनेछन् । यसैगरी, वैदेशिक रोजगारीमा रहेकाहरुले साउन ९ गते र ढिलोमा साउन २० गते भर्न सक्नेछन् ।
स्थानीयले कम्पनीको कार्यालय, तल्लो स्टेसन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु वा मेरोसेयरमार्फत अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
यो आईपीओमा नेपाल एसबीआई मचेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरिरहेको छ । केयर रेटिङ नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्