पोखरा – एमालेको भातृ संगठन राष्ट्रिय युवा संघमा दुई प्यानलै चुनावी प्रतिस्पर्धामा जाँदा नेतृत्व, पदाधिकारी र सदस्यमासमेत गरेर १९९ जनाको उम्मेदवारी परेको छ । पदाधिकारी ९ जनासति १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा ३९९ जनाको उम्मेदवारी परेको हो ।
शुक्रबारदेखिको सर्वसम्मत गर्ने रस्साकस्सी विफल भएपछि प्रतिनिधिको दबाबबीच आइतबार उम्मेदवारी मनोनयन भएको थियो । अध्यक्षमा क्षितिज थेबेलाई नै दोहोर्याउन दबाब र प्रयास गरिएको भए पनि निवर्तमान सुमन पुरी पछाडि नहट्दा प्यानलै मतदानमा जाने गरी मनोनयन भएको हो ।
नेताहरुले केही निर्णय, निर्देशन गर्न सक्ने भएकाले पनि आईतबार राति नै दाबी, विरोध र उम्मेदवारी फिर्ताको काम नटुंग्याइएको नेताहरुको भनाइ छ । निर्वाचन अधिकृत पोखरेलका अनुसार पदाधिकारीका लागि परेको मनोनयमा अध्यक्ष क्षितिज र सुमनको मात्र परेको छ भने उपाध्यक्षमा भने ३ जनाको उम्मेदवारी परेको छ ।
क्षितिज समूहबाट उपाध्यक्षमा माहाराज गुरुङ, सुमन समूहबाट प्रकाश गौतम र राजान थापाले स्वतन्त्र रुपमा मनोनयन गराएका हुन् ।
महासचिवमा भने क्षितिजको प्यानलबाट महेश चौलागाईं, सुमनको प्यानलबाट कुबेर अधिकारीको मात्र उम्मेदवारी परेको छ । उपमहासचिवमा क्षितिज प्यानलबाट उपेन्द्र शाही र सुमन प्यानलबाट खेम शर्माले उम्मेदवारी दिएका छन् ।
१५१ जनाको केन्द्रीय कमिटी, लेखा, अनुशासन, निर्वाचन र युवा विज्ञ आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवकोसमेत गरेर ३ सय ९९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसहित नेताहरुको दबाबले पनि सर्वसम्मत हुन नसकेको हो ।
ओलीले क्षितिजलाई नै अध्यक्षमा दोहोर्याउन निर्देशन दिएको भए पनि अर्का अध्यक्षका आकांक्षी सुमनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिँदा मतदानबाटै नेतृत्व टुंग्याउने गरी प्रक्रिया अगाडि बढाइएको हो ।
मनोनयनपछि उम्मेदवारहरुको नामावली सार्वजनिक गरेर दाबी, विरोध र उम्मेदवारी फिर्ता गर्ने कामलाई थाती राखेर नेताहरुले प्यानलहरुको बेग्ला बेग्लै होटलहरुमा बैठक राखेका छन् ।
दुवै प्यानलले नेताहरुसहित उम्मेदवारहरुको परिचय गराउने, चुनाव जित्नका लागि रणनीति तयार गर्ने, नेताहरुलाई आकर्षितजस्ता कार्य कसरी गर्ने भनेर निर्देशन तथा जानकारी गराएका थिए ।
पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य र शीर्ष तहका नेताहरुलेसमेत आफ्ना उम्मेदवारलाई जिताउन सर्कुलर र सन्देश पठाइरहेका छन् भने अझै पनि केन्द्रबाट कुनै निर्णय वा निर्देशन आउन सक्ने आशंकासमेत प्रतिनिधिहरुले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्