काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सहितका दल सहभागी समाजवादी मोर्चाले गएको शुक्रबार नै पत्रकार सम्मेलन गर्दै चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने घोषणा गर्यो । लामो सयमसम्म बस्न नसकेको मोर्चाको बैठक २७ फागुनमा बसेको थियो ।
सोही बैठकले पत्रकार सम्मेलनमार्फत चैत १५ मा काठमाडौंमा प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो । मोर्चाले गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध प्रदर्शन आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रदर्शनका लागि मोर्चाले आफ्ना भातृसंगठन अन्तर्गतका कमिटीहरूलाई जिम्मा दिइसकेको छ ।
पछिल्लोसमय मोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको भन्दै त्यसविरुद्ध प्रदर्शनमा उत्रिएको हो । फागुन २५ गते पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा शाहको स्वगतका लागि त्रिभुवन विमानस्थलको गेटमा हजारौँ समर्थकले स्वागत गरेका थिए ।
उनलाई त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्मै र्याली गरिएको थियो । ज्ञानेन्द्रको स्वागतका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेत सडकमा उत्रिएको थियो ।
जसकारण मोर्चा प्रदर्शनका लागि बाध्य भएको छ । तर, मोर्चाले प्रदर्शन तय गरेको चैत १५ मा विवादित मेडिकल व्यवसायी प्रसाईंले समेत काठमाडौंमा पूर्वराजाको पक्षमा आन्दोलन गर्ने घोषणा गरेका छन् । सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन समेत प्रसाईंले अपिल गरेका छन् ।
राजाको समर्थनमा र मोर्चाले गणतन्त्रको पक्षमा एकैदिन प्रदर्शन गर्ने भएपछि मुठभेडको अवस्था आउनसक्ने सुरक्षा संयन्त्रहरूको आशंका छ । मोर्चामा नेकपा माओवादी केन्द्रसहित चारवटा पार्टी सहभागी छन् । राजावादी र गणतन्त्रवादी एकै पटक सडकमा उत्रँदा मुठभेडको जोखिम बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
सुरक्षा संयन्त्रहरूले पछिल्लोसमय पूर्वराजा समर्थकहरूको गतिविधिलाई सुक्ष्म ढंगले निगरानी गरिरहेको जनाएको छ । प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका हुन् । उनले प्रदर्शनका लागि सम्पूर्ण बैंक, सहकारी, लघुवित्तपीडित, सहकारीमा बचत डुबेका पीडित बचतकर्ताहरूलाई समेत प्रदर्शनमा आउन अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्