काठमाडौं – इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीलाई ३–१ गोल अन्तरले जितेको हो ।
सिटीको जितमा जोस्को ग्भार्डियोल, एर्लिङ हालान्ड र फिल फोडेनले एक/एक गोल गरे । चेल्सीमाथिको जितसँगै सिटी अंक तालिकाको शीर्ष चारमा फर्किएको छ ।
लिगमा २३ खेलबाट ४१ अंक बनाएको सिटीले १२ खेलमा जित, १५ खेलमा बराबरी र ६ खेलमा हार भोगेको छ । समान ४१ अंक नै भएको न्युक्यासलले उस्तै नतिजामा अंक तालिकाको पाँचौँ स्थानमा छ । यी दुई टोली शीर्ष पाँचमा अटाउन सर्घष गर्दै छन् । समान खेलबाट ४० अंक भएको चेल्सी भने छैटौँ स्थानमा छ ।
कोडी गाक्पोको दुई गोल मद्दतमा लिभरपुलले इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको छ । शनिबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा इसविच टाउनमाथि ४–१ को फराकिलो जित निकालेको हो । लिभरपुलको जितमा गाक्पोले दुई तथा डोमिनी र मोहम्मद सलाहले समान एक गोल गरे ।
पहिलो हाफमा नै ३–० को आरामदायी अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप १ गोल गर्याे । इसविचका लागि ग्रेभ्सले अन्तिम समयमा शान्त्वना गोल फर्काए । जितसँगै लिभरपुलले शीर्ष स्थानमा ६ अंकको अग्रता कायम गरेको छ। लिगको २२ मध्य १६ खेलमा जित, ५ खेलमा बराबरी र १ खेलमा हार भोग्दै लिभरपुलले ५३ अंक बनाएको छ ।
लिभरपुलभन्दा एक खेल बढी खेलेको इसविच टाउन भने १६ अंकमा रेलिगेसन क्षेत्रमा छ । इसविचले लिगको २३ खेलमा ३ खेलमा मात्र जित निकालेको छ । ७ खेलमा बराबरी र १३ खेलमा हार भोग्दै १६ अंक भएको इसविच तालिकाको १८ औँ स्थानमा छ । रेलिगेसनबाट जोगिन टाउन अंक तालिका सुधारका लागि संघर्ष गरिरहेको छ ।
गएराति नै भएको खेलमा न्यु क्यासलले भने साउथहेप्टनलाई ३–१ ले हराएको थियो । अर्को खेलमा वर्नमाउथले नटिङघम फरेस्टलाई ५–० ले तथा एभर्टनले ब्राइटनलाई १–० ले पाखा लगायो ।


प्रतिक्रिया दिनुहोस्