काठमाडौं – इंग्लिस प्रिमियर लिगको उपाधि होडमा सर्वाधिक अघि रहेको लिभरपुल अङ्क तालिका सुधारमा संघर्षरत रहेको म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ। अन्तिम समयमा युनाइटेडले गोल फर्काउँदा २-२ गोलको बराबरी सकियो।
म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षक रुबेन अमोरिम खराब सुरुवातबाट आलोचित भएका थिए। तर लिभरपुलसँग महत्वपूर्ण अङ्क खोस्न सफल भएसँगै युनाइटेडले केही राहत महसुस गरेको छ।
युनाइटेडले सन् १९७९ यता पहिलो पटक लगातार चार लिग खेल गुमाउने स्थितिलाई रोक्न खोज्दै ५२औं मिनेटमा लिसान्ड्रो मार्टिनेजको गोलमा सुरुवाती अग्रता बनाएको थियो।
लिभरपुलले सात मिनेटपछि कोडी गाक्पोको उत्कृष्ट गोल गर्दै टिमलाई बराबरीमा ल्याए। खेलमा मोहम्मद सलाहले अन्तिम २० मिनेट बाँकी हुँदा पेनाल्टीमार्फत प्रिमियर लिगमा १७५ औं गोल गर्दै थिएरी हेनरीको कीर्तिमान बराबरी गर्दै लिभरपुललाई अग्रता दिलाए। भिएआरको सहयोगमा पेनाल्टी पाएको युनाइटेड पुन अर्को हार नजिक पुगेको अवस्थामा अन्तिम समयमा बराबरी गोल फर्काउन सफल भयो।
अमाड डियालोले म्यानचेस्टर सिटीविरुद्ध गरेको निर्णायक गोलपछि अर्को ठूलो र टिमका लागि निर्णायक गोल गरेपछि टिमले महत्वपूर्ण १ अङ्क प्राप्त गर्यो। उनले आलेक्सान्ड्रो गार्नाचोको क्रसलाई गोलमा परिणत गरेका थिए।
खेलको अन्तिम समयमा युनाइटेडले गोलको सुन्दर मौका चुकायो। ह्यारी माग्वायरले खेलको अन्तिम समयमा जोशुवा जिर्कजीको पासलाई सहज रुपमा गरेको प्रहार १२ यार्डबाट माथि प्रहार गर्दा संभावित जितबाट युनाइटेड बन्चीत भयो।


प्रतिक्रिया दिनुहोस्